ललितपुर। नेपालका बाजिगर मेयरका रुपमा ख्याति कमाएका ललितपुर महानगरपालिकाका मेयर चिरिवावु महर्जन र उपमेयर गीता सत्याल व्हील–चेअरमा सवार भएर बाँस्केटबल खेलेका छन्।

ललितपुरको मंगलवजारमा आयोजित व्हील–चेअर बाँस्केटबल प्रतियोगितामा मेयर तथा उपमयेरले मज्जाले व्हील–चेअरमा बसेर खेलेका हुन्। अपाङ्गता भएका व्यक्तिहरुलाई हौसला तथा प्रेरणा दिन मेयर तथा उपमेयरले शुक्रवार आयोजित कार्यक्रममा त्यसरी खेल खेलेपछि हेर्ने सवै तीन छक्क–अठार दंगै परेका थिए।

कतिले त मेयर तथा उपमेयर त्यसरी व्हील–चेअरमा बसेर बाँस्केट बल खेल्दा रमाइलो मानेर ताली बजाइरहेका थिए भने, अपाङ्गता भएका व्यक्तिहरु मेयर तथा उपमेयरलाई जित्ने दाउमा कसरत गरिरहेका थिए। खेल रोमाञ्चक नै बनेको थियो। त्यस प्रतियोगितामा महिला विकास कायालयकी प्रमुख महेश्वरी विष्ट रावलको समेत सहभागिता रहेको थियो।

मेयर तथा उपमेयरले बाँस्केटबलको अलावा बोसिया र ब्लाइण्ड क्रिकेट पनि खेलेर अपाङ्गता भएका व्यक्तिहरुलाई हौसला तथा प्रेरणा प्रदान गरेर धन्यवादको पात्र बनेको जिकिर लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष भोजराज श्रेष्ठको रहेको छ।

अध्यक्ष श्रेष्ठका अनुसार, २८ औं अन्तरराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा आयोजित कार्यक्रममा उक्त प्रतियोगिता भएको हो। यो बर्षको अन्तरराष्ट्रिय अपाङ्गता दिवसको नारा दिगो विकासको लक्ष्य अपाङ्गता मैत्री भविष्य रहेको छ।


प्रकाशन मिति–२०७६ साल मंसीर १३ गते शुक्रवार ।