काठमाडौं। ग्रीनजोन मानिएको काठमाडौं उपत्यका रेडजोनमा परिसकेको अवस्थामा काठमाडौं उपत्यका नगरपालिका मेयर फोरमले उपत्यका प्रवेश गर्ने नाकाहरुमा कडाई गर्न सरकारलाई आग्रह गरेको छ। काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर बढिरहेको उल्लेख गर्दै फोरमले नाकामा कडाई गर्न सरकारलाई आग्रह गरेको हो।

कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) का संयोजक समेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भेटेर फोरमले नाकामा कडाई गर्न, अनाधिकृत रुपमा प्रवेश गर्ने र गराउनेलाई कारवाही गर्न आग्रह गरेको जानकारी फोरमका अध्यक्ष समेत रहेका काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले दिएका छन्।

मेयर शाक्यले लकडाउन खुकुलो भएपछि संक्रमितको संख्या बढिरहेको उल्लेख गर्दै चाहिने भन्दा बढी मान्छेहरु भित्रिएकोले विगतमा जस्तै नाकाहरुमा कडाई गर्नुपर्ने बताए। फोरमले जेष्ठ नागरिकहरुको सामाजिक सुरक्षा भत्ताका लागि नयाँ नाम दर्ता र नविकरण गर्ने मिति साउन मसान्तसम्म रहेकोमा त्यसलाई बढाउन पनि आग्रह गरिएको मेयर शाक्यले भनेका छन्।

उपत्यका मेयर फोरमका सचिव समेत रहेका मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले तेस्रो मुलुकबाट आउनेहरुका लागि संघीय सरकारले एकीकृत रुपमा क्वारेन्टिन व्यवस्थापन गर्नुपर्ने बताए। समुदायस्तरमा कोरोना फैलिएकोले जात्रा पर्वहरु स्थगित गरिएजस्तै सरकारको पक्ष वा विपक्षमा हुने जुलुस, अनसन जस्ता कुराहरु प्रतिवन्ध गर्नुपर्ने माग गरिएको मेयर श्रेष्ठले बताएका छन्।

मास्क नलगाउनेलाई कारवाही गर्नुपर्ने, पीसीआर परीक्षणको सट्टा स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको क्षमता अभिवृद्धिमा खर्च गर्ने र गुणस्तरिय क्वारेन्टिन व्यवथापनका लागि ध्यान दिनुपर्ने सुझाव सीसीएमसीलाई दिइएको मेयर श्रेष्ठले बताए।

फोरमले सार्वजनिक यातायात निषेध गरी नीजि सवारी साधनमा जोर विजोर प्रणाली लागु गर्न पनि सरकारलाई आग्रह गरेको छ। उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेलले फोरमले दिएका सुझावहरुलाई सीसीएमसीमा निर्णय गरेर अगाडि बढाउने प्रतिवद्धता जनाएका छन्।
प्रकाशन मिति–२०७७ साल साउन २५ गते आइतवार ।