काठमाडौ। काठमाडौ महानगरपालिका मेयर विद्यासुन्दर शाक्य तथा उपमेयर हरिप्रभा खड्गी वीच रानीपोखरी निर्माण संवन्धमा विवाद चर्किएको छ। विवाद चर्किनुको मूल कारण दुवै वीच समन्वय हुन नसक्नु र दुवै एकसाथ रानीपोखरी निर्माणको निरीक्षण गर्न जानु पर्नेमा अलग–अलग गएर विवाद चर्किएको हो।

निर्माणाधिन रानीपोखरीको संरचनामा कंक्रिट तथा डण्डीको प्रयोग भएको विषयमा उपमेयरले बखेडा झिकेर काम रोक्न आदेश दिएर रानीपोखरीमा तालाबन्दी गरेपछि विवाद आएको हो।

मंगलवार विहान रानीपोखरी पुगेकी उपमेयर खड्गीले काम रोक्न तालाबन्दी गरिदिएपछि दिउंसो रानीपोखरी निर्माणको अवलोकनमा पुगेका मेयर शाक्यको टोलीले निरीक्षण गर्न उपमेयरको टोलीले लगाएको ताला तोडेर भित्र पुगेका थिए।

स्थानीय निकायको निर्वाचन हुनुअघि नै काठमाडौ महानगरपालिकाले निर्माण शुरु गरेको रानीपोखरी निर्माणका संवन्धमा मेयर शाक्य पनि उपमेयर खड्गीले जस्तै पुरातत्वको जगेर्ना गर्नमा एक मत देखिएका छन्। मेयर शाक्य पनि संरचना बलियो बनाउने नाममा कंक्रिट तथा डण्डी लगायतका सामाग्री प्रयोग गर्नु र गराउने पक्षमा छैनन्।

मेयर र उपमेयर वीचको समन्वयको अभावमा अनावश्यक रुपमा मिडियावाजी विवाद आएपछि काठमाडौ महानगरपालिकाले रानीपोखरी पुनः निर्माणका विषयमा पुरातत्व विभाग र राष्ट्रिय पुनः निर्माण प्राधिरणसँग समन्वय गर्ने भएको छ।

पहिलेको भन्दा पोखरी सानो बन्न नहुने तथा त्यहाँस्थित बालगोपालेश्वर मन्दिर निर्माण कंक्रिट प्रयोग गर्न नहुने आवाज संस्कृतिकर्मीले उठाउँदै आएका छन्। जसमा मेयर शाक्यले आफू पनि त्यही पक्षमा रहेको दाबी गरेका छन्।  विसं २०७२ वैशाख १२ को भूकम्पबाट क्षतिग्रस्त रानीपोखरीको २०७२ माघ २ मा राष्ट्रपतिबाट पुनःनिर्माण अभियान प्रारम्भ भएको थियो।

विसं २०७२ वैशाख १२ मा गएको भूकम्पका कारण पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर, पोखरी र वरपरसमेत क्षति पुगेको थियो। सम्झौताअनुसार कुल करिब रु सात करोड लागतमा पहिलो चरणको लागि गत कात्तिक मसान्तसम्ममा सकाइक्नुपर्ने सो निर्माण कार्य महानगर र ठेकेदार कम्पनी वल्र्डवाइड कँडेल केएन केजीजेभीबीच आन्तारिक विवादका कारण ढिलाइ भएको हो।

विसं १७२७ मा दुई वर्ष लगाएर बनाइएको सो पोखरी प्रताप मल्लका कान्छा छोरा चक्रवर्तीन्द्रको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन स्थापना गरिएको इतिहासमा उल्लेख छ।
प्रकाशन मिति–२०७४ साल पुष ११ गते मंगलवार ।