काठमाडौ। म्यानमारको रखाइन प्रान्तस्थित मराउके यूमा बुधबार बौद्ध धर्मावलम्बीहरुले गरेको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर सातजनाको मृत्यु भएको छ। अराकान राज्यको शासन पतन भएको स्मृतिमा कार्यक्रम गर्न करिब ४ हजार आदिवासी बौद्ध धर्मावलम्बीहरु त्यहाँ जम्मा भएका थिए। यसक्रममा धेरै प्रदर्शनकारी घाइते भएका छन्।

मराउके यू अराकनको ऐतिहासिक राजधानी हो। प्रत्येक वर्ष स्थानीय रखाइनवासीले २०० वर्षअघि बर्मेली सेनाले तत्कालीन उक्त राज्यमा विजय हासिल गरेको मौका पारी स्मृति कार्यक्रम गर्ने गर्छन्। तर, यस वर्ष स्थानीय प्रशासनले कार्यक्रम आयोजना गर्न प्रतिबन्ध लगाएको थियो।

म्यानमार विभिन्न आदिवासी समूह बसोबास गर्ने मुलुकमा पर्छ। यस्ता केही समूह सरकारसँग सशस्त्र संघर्षमा उत्रिएका छन्। रखाइन प्रान्तमा रोहिंग्या र सेनाबीचको संघर्षका कारण ६ लाख ५० हजारभन्दा बढी रोहिंग्या बंगलादेश पलायन भएका छन्।

हिजो मंगलबार मात्र लागि बंगलादेश र म्यानमारबीच रोहिंग्या मुस्लिम शरणार्थी म्यानमार फर्काउने समय तालिकामा सहमति भएको थियो।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल माघ ३ गते वुधवार ।