काठमाडौ। यमनका पूर्व राष्ट्रपति अली अब्दुल्लाह सालेह मारिए छन्। सालेहका समर्थक र हुथी विद्रोहीबीचको संघर्षका क्रममा उनी मारिएका हुन्। सालेहको जनरल पिपुल्स कंग्रेस पार्टीले राजधानी सनाको दक्षिणी क्षेत्रमा गरिएको आक्रमणमा उनी मारिएका जनाएको छ।

तर हुथी विद्रोही नेता अब्दुल मलिक अल हुथीले भने देशद्रोहीले निम्त्याएको संकटको अन्त्य भएको भन्दै सालेहको मृत्युलाई ठूलो र महत्वपूर्ण उत्सव भनी खुशी व्यक्त गरेका छन्। आफुहरुले साउदी नेतृत्वको गठबन्धनको षड्यन्त्रलाई परास्त गरेको उनको भनाई छ। गत हप्तासम्म पनि सालेहका समर्थकले हुथी विद्रोहीसँग मिलेर वर्तमान राष्ट्रपति अब्द्रुर मनशुर हादीविरुद्ध संघर्ष गरिरहेका थिए। तर हुथी नियन्त्रित सनाको एक मस्जिदमाथिको नियन्त्रणका विषयमा उनीहरुबीच विवाद उत्पन्न भएको थियो।

शुक्रवार यताको संघर्षमा मात्रै १ सय २५ जना मारिएका छन्। गत शनिवार मात्र सालेहले हादीले समर्थन गर्दै आएको साउदी नेतृत्वको गठबन्धनसँग यमनविरुद्धको नाकाबन्दी अन्त्य गर्न आग्रह गरेका थिए। साउदी नेतृत्वले उनको प्रस्तावको स्वागत गरेको थियो। तर हुथीहरु यसको विरोधमा थिए। ७७ वर्षिय सालेहले ३२ वर्षसम्म यमनमा शासन गरेका थिए। सन् २०११ को आन्दोलनका कारण उनी तात्कालीन उपराष्ट्रपति हादीलाई सत्ता छाड्न बाध्य भएका थिए।

यमनमा सन् २०१५ यताको संघर्षका कारण करिब ९ हजार मानिस मारिएका छन् भने ५० हजारभन्दा बढी घाईते भएका छन् । (समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७४ साल मंसीर १९ गते मंगलवार ।