० माछी मारन दाइ हो  ० बादलुको दरवारमा पहाडको मेला. ० यो नेपाली ठिटो..

     काठमाडौ। कालजयी गीतहरुका सदावहार ख्यातिप्राप्त बरिष्ठ गायक तथा संगीतकार सूर्य थुलुङको विलकुलै नयाँ गीतको भिडियो निर्माण भएको छ। प्रदीप श्रेष्ठको निर्देशनमा गायक थुलुङको गीतको भिडियो निर्माण भएको हो।

     पछिल्लो समयकी चर्चित नायिका अनु शाहका साथमा दुई कलाकार चन्द्र र जीतुको बेजोड अभिनय रहेको गीतको बोल मैले जस्तै माया गर्ने अर्को कोही पायो होला रहेको छ। यस गीतको रचना गीतकार डी शान्त गजुरेलले गरेका हुन्। स्वर तथा संगीत गायक सूर्य थुलुङको रहेको छ। संगीत संयोजन विपिन आचार्यले गरेका हुन्। ललितपुरको भैसेपाटी लगायतका मनमोहक स्थानमा छायाँकन भएको गीतको भिडियोमा गीतको बोलअनुरुप कथा बुनिएको छ। जुन स्वभाविक भएको गायक थुलुङको ठहर रहेको छ।

     गायक थुलुङको ४० बर्षभन्दा लामो गायनको नयाँ उपलव्धिको रुपमा नयाँ गीत मैले जस्तै माया गर्ने कोही पायो होलाले लिइएको छ। यस गीतमा गायक थुलुङको उही मखमली स्वर तथा संगीतको झरिलो बहारले गीतलाई बेजोड बनाएको छ।

     तीसको दशकको सुपरहिट गीत मागी मिठो खांदैन–चोरी राम्रो लाउंदैन–यो नेपाली ठिटो, बादलुको दरवारमा पहाडको मेला, बत्तीहरु निभिसके, मायाको डोरी, माछी मारन दाजै, साह्रै पा¥यो आज मलाई लगायतका गीत गायक थुलुङका कालजयी कर्णप्रिय सदावहार गीतहरु हुन्।

     यी गीतहरु मध्ये माछी मारन दाजै बोलको नयाँ गायक–गायिकाहरुले रिमेक गरेर गाएको पनि पाइन्छ। साह्रै पा¥यो आज मलाई बोलको युग थर्काउने गीतको पनि भिडियो निर्माणको क्रममा रहेको छ। त्यस्तै गायक थुलुङका अन्य गीतहरुको पनि क्रमिक रुपमा भिडियो निर्माण हुने भएको छ।

सूर्य थुलुङ शहीदका चेला 

सदावहार गायक सूर्य थुलुङ शहीद रत्नकुमार बान्तवाका चेला हुन भन्ने कुरा धेरैलाई हालसम्म थाहा छैन् । थुलुङलाई शहीद बान्तवाले दिएको नोटबुक अझैपनि थुलुङको काठमाडौ सुकेधारास्थित घरमा सुरक्षित रहेको छ। शहीद बान्तवासँग थुलुङले वि.सं. २०३०–०३१ सालमा इलामको नारायणथानमा आइए लेबल अध्ययनका क्रममा अंग्रेजी विषयको ट्युसन पढ्ेका हुन्।

त्यसबखत नारायणथानमा शहीद बान्तवासंग रुमपार्टनर भएर केही महिना बसेका थुलुङको वि.सं. २०१५ साल असार १३ गते इलामको श्रीअन्तुमा जन्म भएको हो । वि.सं. २०३४ सालमा पहिलो पल्ट रेडियो नेपालमा मागी मिठो खांदैन, चोरी राम्रो लाउदैन–यो नेपाली टिठो…बोलको यही गीत रेकर्ड भएको थियो । यो गीतको रेकर्ड पछि नेै नेपाली सुगम संगीतमा थुलुङको विधिवत रुपमा साँगीतिक यात्रा प्रारम्भ भएको हो।

धेरै बर्ष रेडियो नेपालमा जागिरे समेत रहेका थुलुङले त्यो बेला तत्कालिन पंचायतको भक्ति गीत गायन गाएनन् । दबाब व्यापक आएतापनि शहीदको चेला भएकोले मनभरि क्रान्ति उर्लाएरै अनेक बहाना बनाएर जोगिएका उनी केही समय नेपाल प्रज्ञाप्रतिष्ठानको जागिरे समेत बने।

त्यसपछि जीवन खोज्ने क्रममा जापान समेत पुगे । जापानमा सात वर्ष वसेर त्यहां पनि नेपाली गीत–संगीतको प्रवद्र्धन गर्नमा सफलता पाएका थिए। रेडियो नेपाल तथा प्रज्ञा–प्रतिष्ठानको जागिरे जीवन र जापानको जिन्दगी भन्दा पहिला इलामको खानेपानीको सरकारी जागिरे हुंदै काठमाडौमा सरुवा बनेका थिए। खानेपानीको जागिरे जीवनसंगै सांगीतिक जीवनको उकालोमा पुगेका थुलुङको सांगीतिक शिखरताको चुली निरन्तर चुलिदै गएको छ। जुन अत्यन्त गर्बिलो विषय हो।

१. सूर्य थुलुङका कालजयी गीतहरु

– बादलुको दरवारमा पहाडको मेला…

– मागी मिठो खांदैन–चोरी राम्रो लाउंदेन यो नेपाली ठिटो…

– सा¥है पा¥यो आज मलाई तिम्रो संझनाले……

– माछी मारन दाइ हो आजलाई चटनी…..

– बत्तीहरु निभिसके–अव मुटु जल्न देऊ….

– करेसामा लालुपाते वनैभरी गुरांस……

– स्याङ्जा झरेसी को कसले देख्छ वसमा चढ्ेसी….

–मायाको डोरी

–यति टाढा हुँदा पनि

–जिन्दगी नै मेरो धराप

–हे धीर बीर नेपाली

–गागनै खोला बाँढी है आयो

–मर्ने बेला कोही छैन–किर्लिङ–किर्लिङ झ्याइँ

–मेरो मन दुख्छ हजुर भाइको मन दुखे

२ . सुटसँग गितार साट्दाको त्यो क्षण….

– दशैंको वेलामा १४ वर्षको उमेरमा पहिलोपल्ट सूर्य थुलुङका पिताले वुवाले सुट किनिदिएका थिए । त्यो सुट   गितारसंग साटेको त्यो क्षण थुलुङले अझै भुल्न सकेका छैनन्। सुट त्यसरी साटेपछि थुलुङलाई पिताले हप्कीदप्की गर्दा उनी सा¥है रोएका थिए । गितार फिर्ता गरेर सुट लिने कार्य उनीवाट भएन । त्यसपछि श्रीअन्तुवाट सोही गितार वोकेर उनी इलाम सदरमुकाम आए । सदरमुकाममा आयोजित सांगीतिक प्रतियोगितामा नारायण गोपालको चर्चित गीत इश्वर तैले रचेर बोलको गीत त्यही गितार बजाएर गाएरै उनले पुरस्कार पनि जिते । १४ वर्षको उमेरको त्यो क्षण उनले कहिले पनि भुल्न सक्तिन भनेका छन्।

३. प्रोत्साहन अनि प्रेरणा–

– सूर्य थुलुङ अगाडि भन्छन्–”इलामको देऊमाइको किनारमा शहीद भएका रत्न कुमार बान्तवा नै मेरो आदर्श गुरु हुनुहुन्छ । मलाई इलामको कलेजमा पढ्दा अंग्रेजी लगायतका विषयको ट्युसन पढाउनु भयो । उहांले नै मलाई जनवादी गीत पनि गाउन लगाउनु भयो । यसर्थमा मेरो पढाई तथा गायन दुवैको प्रोत्साहन अनि प्रेरणा नै शहीद रत्न कुमार बान्तवा हुन् । म शहीदको चेलो हुं। मैले पहिलो पल्ट मेरो आदर्श गुरु शहीद रत्न बान्तवाको प्रेरणाले गाएको पहिलो जनवादी गीतको वोल यो थियो–मेरा गल्लीका भोका–नांगाहरु…।”

४. जागिर–

– इलामको खानेपानी प्रोजेक्ट हुंदै थुलुङ विसं.२०३२ सालतिर खानेपानी विभाग काठमाडौंमा सरुवा भए । काठमाडौैं सरुवा भएपछि खानेपानीमा ३ वर्षजति काम गरे । त्यसपछि साझा प्रकाशनमा १ वर्ष, एकेडेमीमा ७ वर्ष र रेडियो नेपालमा १२ वर्ष जागिर खाए । त्यसपछि सन् १९९० देखि १९९८ सालसम्म जापान वसे । जापनमा रहंदा जापानीलाई नेपाली गीत सिकाउने कार्य पनि थुलुङवाट भयो। उनले जापानीहरु माझ जापानी गीत पनि गाएर त्यहाँ पनि लोकप्रियता हासिल गरेका थिए। जापानमा त्यो बेला सूर्यतर्फ नामक सांगीतिक समूह स्थापना गरेर त्यहाँ सांगीतिक तहल्का मचाउने कार्य पनि उनले गरेका थिए। जापानवाट फर्केर सन् १९९८ यता स्वतन्त्र रुपमा नेपाली गीत–संगीतको श्रीबृद्धि गर्ने र गराउने कार्यमा निरन्तर व्यस्त बनेका छन्।

५. गीत–

थुलुङले ३ सयभन्दा बढी गीत गाइसकेका छन्।  २ सय वटा जति गीतमा संगीत दिइसकेका छन्। १ सय ५० जति गीतको रचना पनि गरिसकेका छन्।

६. गीति–एल्वम–

– पर्खाइको क्षण

– माछी मारन

– हिंउदे सिमिलाई

– सूर्य थुलुङका लोकगीतहरु

–मनको आकाश

प्रकाशन मिति–२०७५ साल साउन ५ गते शनिवार ।