रोम। युरोपेली मुलुक इटालीमा सोमवार आएको ६० वर्षयताकै विध्वंसात्मक आँधी र बाढीमा परेर कम्तिमा ३० जनाको मृत्यु भएको छ। इटालीको दक्षिणी सहर सिसिलीमा आँधीपछि आएको बाढीमा परेर एकै परिवारका ९ जनासहित १२ जनाको मृत्यु भएपछि एक साताको अवधिमा ज्यान गुमाउनेको संख्या ३० पुगेको हो।

बाढीले खोलाको धार परिवर्तन गरी घरभित्र प्रवेश गर्दा मृत्यु भएका एकै परिवारका ९ जनालाई पानीले डुबाएको अवस्थामा घरभित्रैबाट निकालिएको थियो। अन्य तीन जनालाई नजिकैको एउटा नदी किनारबाट उद्धार गरिएको थियो।

स्थानीय सञ्चारमाध्यमका अनुसार डुबानमा परेको उक्त घरका तीन सदस्य भने रूखमा चढेर बाँच्न सफल भएका छन् ।
इटालीको उत्तरी क्षेत्र र भेनिसको वरिपरि ठूलो आँधीसहित वर्षा हुँदा कम्तिमा २० जनाको मृत्यु हुनुका साथै अर्बौंको सम्पत्ति नष्ट भएको छ।
(समाचार एजेन्सीको सहयोगमा)
प्रकाशन मिति–२०७५ साल कात्तिक २० गते मंगलवार ।