काठमाडौ। नेपालका वरिष्ठ कवि एवम् साहित्यकार तथा नेपाल भाषाका जनकवि दुर्गालाल श्रेष्ठद्वारा रचित गीत वरिष्ठ गायक एवं संगीतकार योगेश वैद्यको Forgotten Melodies र गायिका रिता महर्जनको Rita @ Her Best नेपाल भाषाका दुई गीति एल्बमको विमोचन भएको छ।

सीतामा स्मृति संगीत किर्तिपुरको आयोजनामा उक्त कार्यक्रममा जनकवि श्रेष्ठ र गायक वैद्यलाई प्रमुख अतिथि प्रसिद्ध गायक प्रेमध्वज प्रधान र संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बासकोटाले सम्मान प्रदान गरेका थिए। सीता महर्जनको नाममा स्थापित सीतामा स्मृतिका संरक्षक कृष्णहरि महर्जनले संगीत क्षेत्रमा उत्कृष्ट योगदान गर्ने व्यक्तित्वलाई सम्मान गर्ने उद्देश्यले नगद १० लाख अक्षयकोष स्थापना गरेको भनेका छन्।

शिक्षाविद् सुवर्ण शाक्यको अध्यक्षता सम्पन कार्यक्रममा वरिष्ठ गीतकार चलचित्र निर्देशक यादव खरेल, वरिष्ठ कवि एवं गीतकार रत्न शमशेर थापा, वरिष्ठ कवि एवं गीतकार कलीप्रसाद रिजाल, डा.कृष्णहरि वरालले जनकवि श्रेष्ठ र गायक वैद्यको योगदानको बारेमा प्रकाश पारेका थिए।

यस सम्मानले आफु ज्यादै हर्षित भएको जनकवि दुर्गालाल श्रेष्ठले बताएका छन्। गायक वैद्यले जनकवि दुर्गालालको गीत गाउँदाको अनुभव तथा अनुभुति बताएका थिए। गीतकार संघका अध्यक्ष चुडामणि देवकोटा, संगीतकार शक्ति वल्लभ, प्राज्ञ उन्नती बोहरा, लगायतले शुभकामना मन्तव्य दिएका थिए भने कार्यक्रम संयोजक गायिका रिता महर्जनले एल्वमको गीत गाएकी थिइन्।


प्रकाशन मिति–२०७४ साल माघ २३ गते मंगलवार ।