काठमाडौं। हिन्दु धर्मावलम्वीले धान्यपूर्णिमा, किराँत समुदायले उधौली तथा नेवार समुदायले योमरी पूर्णिमा र ज्यापु दिवस मनाउने गरेका छन्।

पहाडी क्षेत्र र अन्य स्थानमा बसोबास गर्ने पहाडी समुदायले कुल पूजा र गोठ पूजा गरी धान्यपूर्णिमा मनाउँछन् भने नेवार समुदायले चामलको पिठोबाट बनाएको परिकार चाकुसँगै खाने पर्वका रुपमा योमरी पूर्णिमा मनाउँछन् ।

योमरी पुन्हीका रुपमा स्थापित धान्य पूर्णिमा नेवारी समुदायको एक प्रमुख चाड हो । यस अवसरमा ज्यापू महागुठीले विभिन्न उत्सव, गुठी तथा पूजाआजा गर्ने परम्परा छ । उत्सवमा धानको कोठी, भकारी राखी पूजा गरेर योमरी चढाउने र त्यसलाई प्रसादका रुपमा खाने खुवाउने चलन छ । नयाँ चामलको पिठोभित्र चाकु र तिल हालेर योमरी बनाइन्छ । यसलाई गणेश र कुमारको प्रतीकको पूजा गरिन्छ । यस दिनलाई ज्यापु दिवसका रुपमा पनि मनाउने गरिन्छ ।

के हो योमरी ?

नयाँ धानको चामलको पिठोलाई माछाकोजस्तो स्वरुप बनाएर त्यसभित्र चाकू, तिल, दूधको खुवा आदि राखेर पानीको बाफबाट योमरी तयार पारिन्छ । योमरी अत्यन्तै स्वादिष्ट हुन्छ, मैदाको पिठो भित्र तरकारी र मासुका किमा हालेर मःमः बनाए झै योमरिलाई पनि पानीको बाफमा पकाइन्छ।

तेल या अन्य चिल्लोपना नभएको यो परीकार स्वास्थ्यका हिसाबले हीतकारी छ। योमरी कै जस्तो तर भित्र केही पनि नहालीकन चामलको पिठोलाई पानीको बाफमा राखेर पूर्वी नेपालमा हिउँदका बखत भक्का खाने चलन छ । नयाँ धानको चामलको यस्ता भक्काहरुलाई पिरो अचारमा तात्तातो चोपेर खाने गरिन्छ । 

प्रकाशन मिति–२०७९ साल मंसीर २२ गते विहीवार ।