SLC Boardकाठमाडौ। यही चैत १८ गतेदखि सुरु हुने यस वर्षको प्रवेशिका परीक्षा (एसएलसी)मा छ लाख १५ हजार ५५३ परीक्षार्थी सहभागी हुने भएका छन्।

परीक्षा दिने कोही विद्यार्थी पनि अनुत्तीर्ण नहुने यस वर्षको परीक्षामा नियमिततर्फ चार लाख ५२ हजार ८८१ र पुनःपरीक्षातर्फ एक लाख ५९ हजार ४१७ विद्यार्थी सहभागी हुने छन्। यसैगरी प्राविधिकतर्फ तीन हजार २५५ परीक्षार्थी सहभागि हुनेछन्। सबैभन्दा बढी काठमाडौंमा करिब ३५ हजार र सबैभन्दा कम मनाङमा ६९ जनाले परीक्षा दिनेछन्।

SLC 1

परीक्षाको आवश्यक सम्पर्ण तयारी पूरा गरिएको बताउँदै परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले यस वर्षको परीक्षा शान्तिपूर्ण सम्पन्न गर्न अनुगमनलाई कडा पारिने बताए। यस वर्षको परीक्षाका लागि देशभर एक हजार ४४३ परीक्षा केन्द्र निर्धारण गरिएको छ। कार्यालयले यस वर्षदेखि एसएलसी परीक्षा दिने परीक्षार्थीलाई परीक्षा सकिएकै दिन उनीहरुको परिचयपत्र वितरण गर्ने भएको छ।

परीक्षाको नतिजा सार्वजनिक गर्दा विद्यार्थीको नामथर, जन्ममिति, ठेगाना, अङ्ग्रेजी हिज्जे र परीक्षा दिएको विषयमा गल्ती समयमै सच्याउन परीक्षार्थीलाई परीक्षा सकिएको दिन परिचयपत्र वितरण गरिने भएको हो। परिचयपत्र वितरण गर्दा त्यसमा भएको विवरण र प्रवेशपत्रमा भएको विवरण फरक परेमा विद्यार्थीले विवरण सच्याउन १५ दिनभित्र सम्बन्धित जिल्ला शिक्षा कार्यालयमा निवेदन दिन सक्ने बताइएको छ।

यस वर्षको परीक्षाको नतिजा अक्षराङ्क विधिबाट सार्वजनिक गरिने भए पनि परीक्षा सञ्चालनको विधि भने विगत वर्षमा जस्तै हुने जनाइएको छ। परीक्षाको मर्यादा विपरीत अमर्यादित कार्य गर्ने जोकोहीलाई कसुरको मात्रा हेरेर रु एक लाख जरिवाना वा छ महिना कैद वा दुवै सजाय हुने व्यवस्था गरिएको छ। रासस
प्रकाशन मिति–२०७२ साल चैत्र १४ गते आइतवार ।