काठमाडौं। नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ। यो वर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत रहेको छ।

यसैगरी असोज ३० गते मङ्गलबार फूलपाती भित्र्याइने छ। त्यसैदिन बिहान ९ बजेर २१ मिनेटमा तुलजा भवानीको यात्रा गराइन्छ। १० बजेर २ मिनेटमा भवानीलाई स्थिर आसनमा राखिन्छ। असोज ३१ गते बुधबार महाअष्टमी, कात्तिक १ गते बिहीबार महानवमी, कात्तिक २ गते शुक्रबार विजयादशमी अर्थात् दशैँको टीका परेको छ।

विजयादशमीका दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निस्किएको छ। देवीको प्रसाद लगाउन साइत खोज्नेका लागि बिहान ९ बजेर ५१ मिनेटको साइत निक्लिएको छ। यो साइत विजया दशमीको टीका लाउने साइत हो।

यसपछि कोजाग्रत पूर्णिमासम्म दशैंको टीका लाउन मिल्छ। कात्तिक ७ गते बुधबार कोजाग्रत पूर्णिमा व्रत मनाएपछि यो बर्षको नेपालीको महान् चाड बडादशैँ समापन हुनेछ।
प्रकाशन मिति–२०७५ साल असोज ६ गते शनिवार ।