काठमाडौं। नेपालका पूर्वसभामुख कृष्णवहादुर महरा र संसद सचिवालयका स्वास्थ्य क्षेत्रका कर्मचारी रोशनी शाही वीचको यौनकाण्डले आगो बलेको बल्यै भएको छ। यौन काण्डको विषयमा पटक–पटक वोली फेर्दैआएकी रोशनी शाहीले अन्ततः महरा विरुद्ध प्रहरीमा उजुरी दिएकी छन्।

रोशनीले नयाँ बानेश्वर प्रहरी वृत्तमा महराले आफूलाई बलात्कारको प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै महराविरुद्ध शुक्रबार उजुरी दर्ता गराएकी हुन्। प्रहरीले भने अदालत खुलेलगत्तै अदालतको आदेश लिएर महरालाई पक्रने तयारी गरेको प्रहरी उच्च स्रोतले जनाएको छ।

असोज १२ गते आइतबार राति आफ्नै कोठामा महराबाट आफुमाथि बलात्कारको प्रयास भएको र कुटपीटसमेत गरिएको भन्दै पीडित शाहीले सोमवार ‘हाम्रा कुरा डटकम’ लाई बताएपछि घटना सार्वजनिक भएको थियो। शाहीले यस्तो बताएलगत्तै नेकपाको सचिवलाय बैठकले महरालाई सभामुख र सांसद पदबाट राजीनामा गर्न निर्देशन दिएको थियो। तर, महराले सभामुखबाट राजीनामा दिएपनि सांसद पदबाट भने अझै पद त्याग गरेका छैनन्।


सभामुखबाट राजीनामा दिएलगत्तै पीडित रोशनी शाहीको बयान फेर्न महरापक्षले ठूलै कसरत गरेको देखिएको थियो। अघिल्लो दिन महराले आफुलाई बलात्कार गरेको भनेकी शाहीले भोलिपल्ट महरा पक्षका तीब्र दबाबमा उक्त दिन महरा आफ्नो कोठामै नआएको बताउन बाध्य पारिएकी थिइन्।

अझ उनलाई तीनकुने प्रहरी वृत्तमा लगेर महराबाट आफुमाथि केही नभएको भन्दै निवेदन दिन लगाइएको थियो । रोशनीलाई उनका पतिले छोडपत्रका लागि सहमति गरेको भन्दै पत्र सार्वजनिक गरेका थिए। तर शुक्रवार फेरि प्रहरीसमक्ष उनले उजुरी दर्ता गराएकी हुन्। उनको उजुरीसँगै महरामाथि छानबिन गर्न प्रहरीलाई सजिलो भएको छ। यसअघि पीडितको उजुरी नआएको र महराबाट आफुलाई केही नभएको भन्ने निवेदन परेकाले कार्वाही गर्न नसकिएको प्रहरीले बताएको थियो।

यद्यपि घटना भएको तेस्रो दिन असोज १४ गते प्रहरीले शाहीको डेरामा गएर महराले ल्याएको भनिएको रक्सीको बोतल, घम्साघम्सीमा भाँचिएको महराको चस्माको खुट्टा र कोठाबाट हतारमा निस्किँदा छुटेको जुत्ताको तलुवालगायत सामान बरामद गरेको थियो।
जाँचका लागि ती सामान प्रहरीको फरेन्सिक ल्याबमा पठाइएको छ भने त्रिवि शिक्षण अस्पतालमा रोशनीको स्वास्थ्य परीक्षण गरिएको बताइएको छ।
प्रकाशन मिति–२०७६ साल असोज १९ गते आइतवार ।