काठमाडौं। निर्वतमान सभामुख कृष्णवहादुर महरा र संसद सचिवालयमा नै कार्यरत स्वास्थ्य क्षेत्रकी कर्मचारी रोशनी शाही वीचको यौन काण्डले दुवैको जीवनमा नकारात्मक असर परेको छ। शालिन तथा भद्र सभामुखको प्रतिविम्बको रुपमा सुपरिचित महराको सभामुखको पद गुमेको छ भने, यौनकाण्डको पर्दाफास गर्ने शाहीको घरवार गएको छ।

महरासंगको यौनकाण्डको कारण शाहीको श्रीमान चित्रजंग शाहीले दाम्पत्य जीवन टुंगिएको सामाजिक सञ्जाल फेसबुकवाट सार्वजनिक गरेका छन्। जसवाट निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि यौन दुर्व्यवहारको आरोप लगाएर पनि आफ्नो बयान फेर्दै महरालाई ‘पिता समान’ भनेकी रोशनी शाहीको दाम्पत्य जीवन टुटेको खुलासा भएको हो।

रोशनीका पति चित्रजंग शाहीले बिहीबार फेसबुकमा रोशनी र आफ्नो हस्ताक्षरसहितको हस्तलिखित विवरणमार्फत दाम्पत्य जीवन तोडिएको सवैका लागि जानकारी दिएका हुन्। ‘हामी २८ वर्षसम्म सँगसँगै दिन बितायौं र समयको गतिसँगै अलग हुने निर्णयमा पुगेका छौं। धन्यवाद शुभचिन्तकहरुमा,’ फेसबुकमा उनले लेखेका छन् ।

चित्रबहादुर र रोशनीको हस्ताक्षर रहेको लिखितपत्रमा भनिएको छ, ‘थुप्रै उतारचढावबीच हाम्रा साथसाथ २८ वर्ष दिनहरु बिते । समयको गतिसँगै असहमति असन्तुष्टि आउँदा रहेछन् । तथापि खुसीसाथ अलग अलग बस्ने निर्णय गरेका छौं। कानुनी प्रक्रियाको निरन्तरताका साथ।’

रोशनीले गत आइतबार तत्कालिन सभामुख कृष्णबहादुर महरा आफ्नो कोठामा आएर आफूमाथि बलात्कार गरेको आरोप लगाएकी थिइन्। उनको भिडियो अन्तरवार्ता सोमबार सार्वजनिक भएको थियो । सोमबार नै महराले सभामुख पदबाट राजीनामा दिएका थिए।

मंगलबार भने रोशनीले बयान फेर्दै अर्को अन्तरवार्ता दिइन्, जसमा महरा आफ्नो पिता समान रहेको उनले बताएकी छिन्। उनले महराबाट आफूलाई दुर्व्यवहार नभएको पनि सो भिडियोमा बताएकी छिन्।
प्रकाशन मिति–२०७६ साल असोज १७ गते शुक्रवार।