काठमाडौं। यौनकाण्डको कारण सभामुख पद गुमाएका निर्वतमान सभामुख कृष्णवहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ।

संसद सचिवालयमा कार्यरत स्वास्थ्य सेवाकी कर्मचारी रोशनी शाहीले आफूमाथि गत आइतवार राति महराले बलात्कार गरेको किटानी जाहेरी सहितको उजुरी वानेश्वर प्रहरी बृतमा शुक्रवार दिएकी थिइन्। रोशनीको उजुरी पछि काठमाडौं जिल्ला अदालतले पक्राउ गर्न पक्राउ पूर्जी जारी गरेको हो।

 

त्यसको लगतै आइतवार महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सभामुख निवास बालुवाटारबाट नियन्त्रणमा लिएको हो। प्रहरी उच्च स्रोतका अनुसार महरालाई सिंहदरबार वृत्तको नियन्त्रण कक्षमा राखिएको छ। प्रहरी स्रोतका अनुसार दशैं बिदा परेकोले त्यस अगाडि प्रहरीले मात्रै महराको बयान लिनेछ।

यौन दुर्व्यवहारको आरोप लागेपछि गत सोमबार राजीनामा दिएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले आइतबार पक्राउपूर्जि जारी गरेकोथियो।
प्रहरीले शुक्रबार उजुरी परेपछि शुक्रवार नै पीडित रोशनी शाहीको स्वास्थ्य परिक्षण गराइसकेको छ भने उनको कोठाबाट प्राप्त प्रमाणहरुको पनि फोरेन्सिक जाँच पनि गरिसकेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार प्रहरीले त्रुटी रहित हुने गरी अनुसन्धान गरिरहेको छ।
प्रकाशन मिति–२०७६ साल असोज १९ गते आइतवार ।