–कल्पना तिवारी
काठमाडौं। यौन उत्तेजनाको समस्या महिला र पुरुष दुवैमा हुने गर्दछ । महिलाहरुमा उत्तेजनाको बेला यौनाङ्ग मुलायम भै फैलिने र रसिलो हुने प्रक्रियामा गड्बडी हुने समस्या हुन्छ। धेरै महिलाहरुमा डर, त्रास, संकोच जस्ता मनोगत कारणहरुले पनि यौन उत्तेजना आउदैन । केही महिलाहरुमा संक्रमण, हर्मोनको समस्या वा अन्य कुनै औषधिको सेवनले पनि यौन उत्तेजना नआउने हुन्छ। पुरुषहरुमा भने प्रयाप्त समयसम्म लिङ्ग ठाडो र कडा नरहने समस्या आउनसक्छ।

पुरुषमा पनि शारिरीक रोग, मद्यपान तथा लागूपदार्थ र औषधि सेवन जस्ता कारणले पनि यौन उत्तेजना नआउने हुन्छ । तर यौन क्रियाकलापमा लिङ्ग उत्तेजित हुन्न भने मनोगत समस्या भएको बुझ्न सकिन्छ । प्रायः डर, त्रास, उदासिनता, चिन्ता, थकान वा यौन चाहनाको कमिले पनी यौन उत्तेजना नआउने हुन्छ । उमेर छिप्पिँदै गएपछि यौन उत्तेजनाको समस्या पनि बढ्दै जाने गर्छ । यस्ता समस्याग्रस्त महिला र पुरुष दुवैमा रहेको डर र त्रासलाई मनोवैज्ञानिक विधिद्धारा निवारण गर्दै लानुपर्ने हुन्छ।

यौन समागमको चरम विन्दुमा आनन्द अनुभव नहुने समस्या तुलनात्मक रुपमा महिलाहरुमा बढी देखिन्छ । यसका दुई कारण छन् । पहिलो महिलाकै आफ्नो विभिन्न कारणले चरम विन्दुमा नपुग्नु र दोस्रो कारण पुरुषमा यौन ज्ञान, अनुभवको कमि तथा विभिन्न व्यक्तिगत र सामाजिक दृष्टिकोणका कारण महिलाको यौन आवश्यकता पुरा नहुनु हो। पुरुषमा भने यौन उत्तेजना ढिलो वा चाडो वीर्य स्खलन वा वीर्य स्खलननै नहुनसक्छ। हस्तमैथुन र अन्य तरीकाले आनन्द महसुस हुने वानी परेका कतिपय पुरुषहरुमा यौन समागमले वीर्य स्खलन नहुन सक्छ।

यौनलाई दवाइने सामाजिक, पारिवारीक माहोल वा दृष्टिकोण तथा विभिन्न औषधि र लागुपदार्थको सेवनले पनि यस्तो अवस्था श्रृजना हुनसक्छ । यौन शिक्षा वा ज्ञान, यौनसम्बन्धी भ्रमको निवारण र दम्पतिबीच समझदारी नै समस्याको समाधानमा महत्वपूर्ण हुन्छ। विशेषगरी पुरुषले महिलालाई यौन प्रक्रियाको चरणदेखि विभिन्न क्रियाकलापबाट आनन्दको चरणतिर लानुपर्ने हुन्छ। प्राकृतिक हिसाबले पुरुष चाँडो र सजिलै उत्तैजित भई चरम सुखको चरणमा पुग्ने भएकाले महिलालाई यस्तो चरणसम्म पु-याउन पुरुषले बिस्तारै सहवासको प्रक्रिया अगाडि बढाउनु र उत्तेजित पार्नुपर्ने हुन्छ।

किशोर तथा नवविवाहित पुरुषहरुमा यौन अनुभव कमी शीघ्रपतनको कारण हो। महिलाको यौनाङ्गमा लिङ्ग घुसाउनु अघि वा तुरुन्तै वीर्य झर्नाले यौन तृप्तिको कमी हुनजान्छ । यो समस्या अधिकांशमा मनोगत हुने गर्छ । यसको निराकणका लागि यौन ज्ञान, यौन सम्बन्धी भ्रमको निवारण र श्रीमतीको समझदारी महत्वपूर्ण हुन्छ । पुरुष उत्तेजित भै वीर्यस्खलन होला जस्तो अनुभव भएपछि महिलाले पुरुष अंगको टुप्पाभन्दा केही तलतिर केही सेकेण्डका लागि दुई औँलाले थिचेर उत्तेजना अलिकम भएपछि छोड्ने तरीका पनि अपनाउन सकिन्छ । चिकित्सकको सल्लाह अनुसार औषधि पनि लिन सकिन्छ ।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७६ साल असार ४ गते बुधवार ।