काठमाडौं। कोरोनाको महामारीको वर्तमान अवस्थामा रगत तथा रक्ततत्वको व्यवस्थापनमा पर्दैआएको नकारात्मक प्रभावलाई न्यूनिकरण गर्ने कार्य नेपाल स्वयंसेवी रक्तदाता समाजवाट हुंदैआएको छ।

समाजको आव्हान अनुरुप वर्तमान विषम परिस्थितिमा पनि देशभर रक्तदान कार्यक्रम निरन्तर गर्ने र गराउने कार्य हुंदैआएको समाजका केन्द्रिय अध्यक्ष तथा नेपालका रेकर्डेट रक्तदाता प्रेमसागर कर्माचार्यले भिजन संसार डटकमलाई वताएका छन्।

यसैक्रममा काठमाडौं महानगरपालिका वडा नंबर २८ शान्तिबाटिका रत्नपार्कमा विशेष रक्तदान कार्यक्रम भएको छ। पतञ्जली योग शिबिर नेपाल बागमती प्रदेश जिल्ला शाखा काठमाडौंको आयोजनामा शनिवार विशेष रक्तदान कार्यक्रम भएको हो।

समाजका केन्द्रिय अध्यक्ष कर्माचार्यको प्रमुख आतिथ्यतामा संपन्न विशेष रक्तदान कार्यक्रममा १५३ जना स्वयंसेवी रक्तदाताहरुले रक्तदान गरेका थिए। त्यसरी रक्तदान गर्नेहरुलाई रक्तदान प्रमाण–पत्र, रक्तदान बायज तथा बहुउपयोगी आयुर्वेदिक औषधि गुर्जोको बेर्ना उपहार स्वरुप प्रदान गरिएको थियो।


प्रकाशन मिति–२०७७ साल कात्तिक २३ गते आइतवार ।