काठमाडौं। कुनैपनि जातिको पर्व विशेष पर्ने बेलामा अक्सर काठमाडौंमा निक्कै नै ट्राफिक जाम हुने गरेको छ। त्यो ट्राफिक जाम आज परेको तमु गुरुङ जातिको ल्होसार पर्वको अवसरमा पनि भयो। दिउंसो मध्यान्ह देखि सांझसम्म पनि काठमाडौंवासीले ट्राफिक जामको सामना गर्नुपर्यो।

यसो हुनुको पछाडि तमु गुरुङ जातिको ल्होसार पर्वको अवसरमा सरकारले काठमाडौंमा सार्वजनिक विदा दिएन। विदा नहुंदा ल्होसार पर्व मनाउने क्रममा पर्वको र्याली काठमाडौंका प्रमुख सडकमा हुनु र सभा अनि मेला काठमाडौंको मुटु टुंडिखेलमा हुनुले पनि व्यापक ट्राफिक जाम हुनु स्वभाविक हो। सार्वजनिक विदा भएको भए, ट्राफिक जाम कम हुने आँकन ट्राफिक प्रहरीको रहेको छ।

सार्वजनिक विदा नहुनु र काठमाडौंको मुटु टुंडिखेल वरपर रत्नपार्क, शहीदगेट, पुतलीसडक लगायतका स्थानमा प्रेसर परेपछि काठमाडौंका सवैतिर ट्राफिक जाम हुने गरेको ट्राफिक प्रहरीको भनाई रहेको छ। अर्कोतर्फ, कुनैपनि जातिको पर्व विशेषमा टुंडिखेल, रत्नपार्क, बसन्तपुर वरपर नै र्याली तथा सभा गर्ने भएकोले पनि पर्वको बेलामा धेरै ट्राफिक जाम हुने गरेको हो।

यस्तो बेलामा ट्राफिक जाम हटाउन ट्राफिक प्रहरीलाई हम्मे हम्मे नै हुने गरेको छ। अर्कोतर्फ, कुनै राजनीतिक पार्टी विशेषको सभा–जुलुस पनि रत्नपार्क, टुंडिखेल तथा बसन्तपुर नै केन्द्रित हुने भएको कारण पनि बढी ट्राफिक जाम काठमाडौं महानगरवासीले भोग्नु पर्ने बाँध्यता भएको छ।
प्रकाशन मिति–२०७५ साल पुष १५ गते आइतवार ।