चितवन। माउण्टेन टेलिभिजनका टेलिभिजन पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सन्चारकर्मी रवि लामिछानेसहित तीनजनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत चितवनले आदेश दिएको छ। शुक्रबार जिल्ला अदालत चितवनले लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएको हो।

न्यायाधीश विनोदकुमार गौतम शर्माको एकल इजालासले उनीहरुलाई थुनामा राख्ने निर्णय गरेको हो। तीनैजनालाई आत्महत्या दुरुत्साहनको अभियोगमा प्रहरीले बिहीबार काठमाडौंबाट पक्राउ गरी चितवन ल्याएको थियो। साउन २० गते राति चितवनको नारायणगढस्थित पोखरा बसपार्कनजिकैको कंगारु होटेलमा झुन्डिएको अवस्थामा पत्रकार शालिग्राम पुडासैनीको शव फेलापरेको थियो। पुडासैनीको मर्नुअघिको भिडियो सार्वजनिक भएपछि घटना रहस्यमय बन्दै गएको हो।

सार्वजनिक भिडियोमा रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीका कारण आफू आत्महत्या गर्न बाध्य भएको आरोप पुडासैनीले लगाएका छन्। मुलुकी फौजदारी संहिताले आत्महत्या दुरुत्साहनलाई कर्तव्य ज्यान मुद्दाकै अंग मानेको छ। आत्महत्या दुरुत्साहन अभियोग पुष्टि भए पाँच वर्ष जेल सजाय र ५० हजार रुपैयाँ जरिवाना हुने व्यवस्था रहेको छ। रवि लामिछानेका समर्थकहरुले भने उनको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय र अदातलबाहिर प्रदर्शन गरेका थिए।
प्रकाशन मिति–२०७६ साल साउन ३१ गते शुक्रवार ।