काठमाडौं। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतान्याहुबीच टेलिफोन वार्ता भएको छ। दुवैबीच दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउने तथा उच्चस्तरीय भ्रमण आदानप्रदानको विषयमा कुराकानी भएको उच्च समाचार स्रोतले बताएको छ।

इजरायलका लागि नेपाली राजदूत डा. अञ्जान शाक्यको विशेष पहलमा दुवैबीच टेलिफोन वार्ता सम्भव भएको जनाउँदै उच्च समाचार स्रोतले भनेको छ , दुई प्रधानमन्त्रीबीच नेपाली समय अनुसार गएराति पौने ११ बजे टेलिफोन वार्ता भयो। वार्ता सौहार्दपूर्ण रह्यो । प्रधानमन्त्री ओलीले हालै इजरायलमा सम्पन्न संसदीय आम निर्वाचनमा प्रधानमन्त्री नेतान्याहुका पार्टी विजय भएकोमा उनलाई बधाई दिनुका साथै नेपाल भ्रमणका लागि आग्रह गरेका छन्।

त्यसैगरी इजरायली प्रधानमन्त्री नेतान्याहुले प्रधानमन्त्री ओलीलाई इजरायल भ्रमणका लागि आग्रह गरेका छन्। प्रधानमन्त्रीद्वयबीचको यो टेलिफोन वार्ताले राष्ट्रपति तहमा समेत भ्रमण आदानप्रदान हुने सम्भावना बढेको छ।
प्रकाशन मिति–२०७६ साल बैशाख ८ गते आइतवार ।