ktmकाठमाडौ। राजधानी काठमाडौ उपत्यकामा बम आतंक लगत्तै चन्दा आतंक सुरु भएको छ। पार्टीलाई स्वेच्छिक सहयोग माग गर्दै संविधानसभाका पूर्व सभासद्कै नेतृत्वमा चन्दा आतंक सुरु भएको आजको राजधानीमा खबर छ।

राजधानीका स्कुलमा चन्दा नदिएको भन्दै एक समूहले बम आतंक मच्चएको भोलिपल्टै माओवादी क्रान्तिकारी पार्टीले दिनदहाडै पसल तथा व्यापारिक प्रतिष्ठानसँग चन्दा माग गरेको हो। नेकपा माओवादी क्रान्तिकारीका नाममा बुधबार दिउँसो बागबजारमा चन्दा उठाइरहेका बेला पूर्वसभासद् एवं सो पार्टीका केन्द्रीय सदस्य शिवराम यादबसहित चारजनालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले चन्दा संकलनको रसिद प्याडसहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य यादवका अलावा विद्यार्थी संगठनका केन्द्रीय संयोजक राम नेपाली, विद्यार्थी संगठनका केन्द्रीय सदस्इ महेश श्रेष्ठ र दीपेन्द्र सुनुवार छन्। बुधबार बिहान पनि कलेजसँग चन्दा माग्दै गरेको अवस्थामा दुईजनालाई कलंकीबाट पक्राउ गरिएको थियो। पक्राउ परेकाहरु विप्लव नेतृत्वको नेकपा माओवादी समर्थित कार्यकर्ता भएको प्रहरीले जनाएको छ।
प्रकाशन मिति–२०७३ साल असोज ६ गते विहीवार ।