काठमाडौं। राजनीति गरुञ्जेल व्यापार नगर्ने र व्यापार गर्नुपर्ने अवस्थामा राजनीतिवाटै विदा लिने घोषणा एक नेपाली नेताले गरेका छन्। नेपाली कांग्रेसका सक्रिय नेता तथा पूर्व स्वास्थ्य राज्यमन्त्री तिर्थराम डंगोलले उक्त घोषणा गरेका हुन्।

नेता डंगोलले राजनीति गर्ने नेताहरुले कदापि कुनैपनि प्रकारको व्यापार गर्न र गरिनु हुंदैन भन्ने तर्क राख्दै आफूले व्यापार–व्यवसाय गर्नुपर्ने अवस्था आएमा राजनीति त्यागेर मात्र गर्ने आफ्नो अडान रहेको खुलासा गरेका छन्। नेताले मुलुक बनाउने हो–व्यापार गर्ने होइन भन्ने जिकिर गर्दै मुलुक बर्बाद हुनुमा मुलुकमा फैलिएको भ्रष्टाचारको कारण हो भनेर नेता डंगोलले दावी नै गरे।

नेवाःटेलिभिजन एचडी तथा चक्रमान डंगोल स्मृति प्रतिष्ठानले आयोजना गरेको १५ दिने टेलिभिजन पत्रकारिता क्षमता अभिबृद्धि तालिम समापन समारोहमा प्रमाण–पत्र वितरण समारोहमा प्रमुख अतिथिको आसनवाट नेता डंगोलले उक्त उदघोष गरेका हुन्।

१५ दिने टेलिभिजन पत्रकारिता क्षमता अभिबृद्धि तालिम कार्यक्रममा २० जना प्रशिक्षार्थीहरुले सहभागिता जनाएका थिए। कार्यक्रमको सभापतित्व चक्रमान डंगोल स्मृति प्रतिष्ठानका अध्यक्ष न्हूँच्छे डंगोलको सभापतित्वमा भएको थियो।

आयोजक नेवाःटेलिभिजन एचडीका अध्यक्ष नविन जोशी, बरिष्ठ फोटोग्राफर राजभाइ सुवाल, नेवाःमिडिया प्रालिका अध्यक्ष सन्त महर्जन लगायतले तालिम प्रशिक्षणको आवश्यकता र महत्वको बारेमा उल्लेख गरेका थिए।
प्रकाशन मिति–२०७५ साल साउन १९ गते शनिवार ।