काठमाडौं। राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद प्रमोद साहले जनकपुर विमानस्थलमा तोडफोड गरेका छन्। इमेज खवरका अनुसार, उडान ढिला भएको भन्दै सांसद साहले सोमबार दिउँसो विमानस्थलमा अन्धाधुन्द प्रहार गरी तोडफोड गरेका हुन्।

जनकपुरबाट काठमाडौं आउन लागेका सांसद साहले विमानस्थलका कर्मचारीमाथि दुर्व्यवहार गर्नुका साथै बुद्ध एअरको काउन्टर र भीआइपीकक्षमा तोडफोड गरेको जनकपुर विमानस्थलले जनाएको छ।
यता, नेपाल नागरिक उड्डयन प्राधिकरणले पनि सर्लाही क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभामा निर्वाचित सांसद साहले विमानस्थलका कर्मचारीलाई अभद्र व्यवहार गर्दै तोडफोड गरेको रिपोर्ट प्राधिकरणमा आएको जनाएको छ।

सांसद साहले बुद्ध एअरका जनकपुर इन्चार्जमाथि हातपातको प्रयाससमेत गरेको भनेको छ। तोडफोडको घटनापछि बुद्ध एअरले सांसद साहलाई विमानमा चढाउन अस्वीकार गरेकामा धनुषाका प्रमुख जिल्ला अधिकारीको दबाबमा उनलाई विमानमा प्रवेश दिइएको बुझिएको छ।

यसैबीच, वायुसेवा सन्चालक संघ नेपालले घटनाको घोर भर्तसना गर्दै छानबिन गरी दोषीउपर सात दिनभित्र कारबाही गर्न माग गरेको छ।दोषीमाथि कारबाही नभए जनकपुर विमानस्थलका सम्पूर्ण उडान स्थगित गर्ने चेतावनी पनि संघले दिएको छ।
प्रकाशन मिति–२०७६ साल असोज २७ गते सोमवार ।