काठमाडौं। काठमाडौं महानगरपालिकाको मध्यबाट थोरै उत्तरी भागमा पर्ने वडा नं. २ लाई महानगरको भीआईपी वडा हो। ०.८४ वर्ग किलोमिटर क्षेत्रफल भएको यो वडामा फ्रान्स, डेनमार्क, स्लोभाक, भियतनाम आदि लगायत विभिन्न देशका राजदूतावासहरू रहेका छन् भने रेडिसन, शंकर, एम्बेसडोर जस्ता ठूला होटलहरू पनि यही वडा भित्र पर्दछ। विगतमा राजाको ससुराली समेत यही वडामा थियो।

भीआईपीहरूको आउजाउ बढी हुने भएकोले यो वडाको सुरक्षा, सरसफाई र शान्त वातावरणलाई विशेष ध्यान दिइएको पाइन्छ । काठमाडौं महानगरपालिकाको मझौला आकारको वडामा गनिने यो वडा भित्र १३,४४८ जनसंख्या रहेको छ भने मतदाता संख्या ५१९२ रहेको छ। यो वडा भित्र लाजिम्पाट, गैरीधारा, धोबिचौर, खोलागाल, खुर्सानीटार, साकुनामार्ग, नर्सरी गरी मुख्य आठ वटा टोल रहेका छन् भने अरू गल्लीहरू पनि थुप्रै छन् । यहाँ श्रीपञ्चमीका दिन नील सरस्वतीमा मेला लाग्छ भने चैत्र पूर्णिमाका दिन श्वेतकालीमा जात्रा हुन्छ ।

निर्वाचित जनप्रतिनिधिहरू आइसकेपछि वडाका करिब ७५ प्रतिशत सडक पीच भइसकेको र ७० प्रतिशत गल्लीहरूमा ढुंगा तथा इँटा छाप्ने काम सकिसकेको जानकारी २ नंबर वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले दिएका छन्। अव चांडै शतप्रतिशत पीच सकाउने वडा अध्यक्ष श्रेष्ठको लक्ष्य रहेको छ । भीआईपी क्षेत्र भएकोले सरसफाई पहिल्यैदेखि प्राथमिकतामा परेको र हालै महानगरपालिकाको ब्रुमर आइसकेपछि भने वडा धूलोमुक्त पनि बन्दै गइरहेको कुरा पनि वडा अध्यक्ष श्रेष्ठको जिकिर रहेको छ।

वडाको सबैभन्दा ठूलो समस्या भने टुकुचा खोला रहेको छ । अरूतिर टुकुचा अतिक्रमण भएर समस्या भएको छ भने वडा २ मा टुकुचाले नै हरेक बर्खामा पार्ने डुबान ठूलो समस्याका रूपमा रहँदै आएको छ । बर्खा याममा पानी पर्यो कि टुकुचा बढेर वरपरका करिब ३०० घरलाई डुबानमा पार्ने गर्छ । यो वर्षदेखि यो समस्या पनि हट्ने उनको दावी छ। टुकुचा खोलामा फोहोर जम्मा भएर यो ढल भन्दा पनि ५ इञ्च जति माथि उठिसकेको रहेछ। अब त्यहाँ खाल्डो खनी खोलालाई साढे दुई फिट थप गहिरो बनाइको छ जसले गर्दा खोलाको सतह माथि आउन पाएन।

अब यसपछि वडाको सौन्दर्यकरण आफ्नो प्राथमिकतामा रहेको पनि वडाध्यक्ष श्रेष्ठले भनेका छन्। मूल सडकमा रहेका सबै खम्बाहरूमा अब लहरै विभिन्न खाले फूल समेत रहेको फूलदानी राखी यसलाई एक किसिमको ‘ह्यांगिङ गार्डेन’ को रूप दिने वडा अध्यक्ष श्रेष्ठको सोच अनुरुप भएको छ। यो काठमाडौं महानगरपालिकाकै पहिलो ह्यांगिङ गार्डेन सहितको वडा बन्न पनि सफल भएको छ।

सम्भवतः यही वर्षदेखि वडाको नयाँ भवन पनि बनाउने लक्ष्य रहेको छ । हालको साढे ३ आने भवनको ठाउँमा अब नर्सरी गल्लिमा २१ आना क्षेत्रफलको नयाँ भवन बनाउने तयारी भइरहेको छ । नयाँ वडा भवनमा पार्किङका साथै हल पनि हुनेछ । त्यसपछि पुरानो भवनलाई स्वास्थ्य केन्द्रको रुपमा प्रयोग गरिने छ। २ नंबर वडालाई काठमाडौं महानगरपालिकाले वार्षिक १ करोड ५० लाख बजेट दिने गरिएको छ। वडाले भने गत वर्ष ४ करोड १० लाख भन्दा बढी राजस्व उठाएको थियो।
(काठमाडौं महानगरपालिकाको बुलेटिन महानगरवाट साभार।)
प्रकाशन मिति–२०७६ साल असार २४ गते मंगलवार ।