काठमाडौँ। संघीय गणतन्त्र नेपालकी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो पल्ट पृथ्वी जयन्तीमा सहभागिता जनाएकी छन्। राष्ट्रपति भण्डारी काठमाडौंको सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माता राजा पृथ्वीनारायण शाहको शालिकनेर आयोजित कार्यक्रममा सहभागिता जनाएर श्रद्धाञ्जली अर्पण गरेकी हुन्।

राष्ट्रपति भण्डारीले २९७ औँ पृथ्वी जयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित समारोहमा सरिक भई उनको शालिकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उनको योगदानको स्मरण गरेकी छन्।

सो अवसरमा नेपाली सेनाको व्यान्ड सहितको टुकडीले सम्मान अर्पण गरेको थियो। विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए।

२०६२–०६३ को जनआन्दोलन पश्चात मनाउन छाडिएको पृथ्वी जयन्ती तथा एकता दिवसमा यो बर्षवाट राष्ट्रपतिको समेत सहभागिताले जनाउनुले नेपाल सरकारले फेरि अप्रत्यक्ष रुपमा मान्यता दिएको निश्चित भएको छ।


प्रकाशन मिति–२०७५ साल पुस २७ गते शुक्रवार ।