काठमाडौं। शाहकालका लोकप्रिय राजा बीरेन्द्र वीर विक्रम शाहदेवको नारायणहिटी राजदरवार स्थित निजी निवास श्री सदन अव सर्वसाधारणको अवलोकनका लागि खुला गरिएको छ। नारायणहिटी दरबार संग्रहालयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि आइतवारवाट खुला गरिने निर्णय भएको संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयले जनाएको हो।

विसं.२०५८ साल जेठ १९ गते भएको राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनास भएदेखि बन्द रहेको सदन विसं.२०७७ वैशाख १ गतेदेखि खुला गर्ने भनिएपनि कोरोना महामारीका कारण बन्द नै गरिएको थियो। अव भने मंसीर ७ गतेवाट सर्वसाधारणले अवलोकन गर्न पाउने भएको छ।

सर्वसाधारणले मोटर ग्यारेजमा हिटलरले स्व. राजा त्रिभुवनलाई उपहारस्वरुप दिएको कार, वीरेन्द्रले राजकीय समारोहमा प्रयोग गर्ने श्रीपेच भएको गाडी, विदेशी पाहुनाले प्रयोग गर्ने गाडी हेर्न पाउनेछन्। यस्तै, वीरेन्द्रले प्रयोग गरेको हेलिकोप्टर र हवाईजहाज पनि अवलोकनका लागि राखिएको छ। विसं. २०२३ सालमा बनेको यो सदन तीनतलाको छ। १२ कोठा भएको यो भवनको भुइँतलामा राजा वीरेन्द्रको निजी कार्यालय थियो।

नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार, संग्रहालयमा हालसम्म ५२ कक्षमध्ये ३२ वटामात्रै खुला भएको भन्दै सबै ढोकाका नाम हिमालबाट र सबै कोठाहरुका नाम जिल्लाबाट राखिएको छ। मनाङ, मुस्ताङ, जाजरकोटलगायतका १२ वटा कक्ष खुला गर्न बाँकी रहेको र समयक्रमअनुसार सबै खुला हुने भएको छ।


प्रकाशन मिति–२०७७ साल मंसीर ६ गते शनिवार ।