काठमाडौं। वरिष्ठ मुटुरोग सर्जन प्रा.डा.मलखलाल श्रेष्ठले नेपालमा सरकारले समयमै लकडाउन गरेका कारण कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणले विकराल अवस्था ल्याउनबाट रोकेको वताएका छन्। जर्मनीको ह्यानोभर मेडिकल स्कुल (विश्वकै प्रसिद्ध मेडिकल विश्वविद्यालय) मा विगत २५ वर्षदेखि कार्यरत प्रा.डा.श्रेष्ठले लकडाउनसँगै शुरुमा भारतबाट नेपाल आएका नेपालीहरुलाई स्वदेश भित्राएर केही दिनको क्वारेन्टाइनमा राखेर आ­आफ्नो घरमा जाने प्रबन्ध मिलाउन सकेको भए अहिलेको जत्तिको संक्रमण नहुने भनेका छन्।

प्रा.डा.श्रेष्ठ आरडिटीबाट रोगको पहिचान राम्ररी नहुने भएकाले पिसिआर गर्नुपर्नेमा जोड दिन्छन्। यो रोग कुनै एक देशमा मात्र नभई विश्वभरि नै विस्तार भएकाले यसको नियन्त्रणका लागि पनि व्यक्ति, परिवार, समाज र राष्ट्र राष्ट्रहरुबीचको समन्वयात्मक भूमिका र उत्तरदायित्व रहनेमा जोड दिँदै अझ हामीजस्ता विकासशील देशहरुका लागि त आर्थिक सामाजिक पक्ष पनि जोडिएर आउने भएकाले झन् सबै नै उत्तिकै सम्वेदनशील हुनु जरुरी रहेको प्रा.डा.श्रेष्ठको भनाइ छ।

अझैपनि धेरै जनालाई माक्सको उचित प्रयोग, स्यानिटाइजर र साबुनपानीले हात धुनेजस्ता सामान्य तथा महत्वपूर्ण कुराहरुका बारेमा जानकारी पुग्न नसकेको र पछिल्लो समय लकडाउन खुकुलो भएसँगै यसको प्रयोगप्रति बढ्दो बेवास्ताले गर्दा आगामी दिनमा कोभिडको संक्रमणको जोखिम बढ्न सक्नेतर्फ प्रा.डा.श्रेष्ठले सचेत गराएका छन् । राज्य र सरकारले कोभिडको त्रास होइन, बाँच्ने आशा जगाउन सक्नुपर्छ भनेर प्रा.डा.श्रेष्ठवाट सचेतना दिने कार्य भएको छ।

चीनको वुहान प्रान्तमा जनवरीमा यस रोगको लक्षण देखिएलगत्तै चीन सरकारले लकडाउन गरी ठूलो क्षति हुनबाट रोकेको बताउँदै प्रा.डा.श्रेष्ठले इटाली, स्पेन, अमेरिकालगायतका देशहरुले यसलाई चीनको रोग भन्दै शुरुमा बेवास्ता गरेको परिणाम आज उनीहरुले ठूलो क्षति भोग्नुपरेको खुलासा गरेका छन्। जर्मनीका प्रधानमन्त्री इन्जिला मेकर (जो आफैँ पनि आणविक वैज्ञानिक हुन)ले त्यहाँको सरुवा रोग इन्टिच्युट रोबर्ट ककका निर्देशक र विशेषज्ञहरुके कमिटीले दिएको सुझाव अनुसार कार्य गरेकाले रोगलाई नियन्त्रण गर्न सजिलो भएको समेत प्रा.डा. श्रेष्ठले उल्लेख गरेका छन्।

कोरोनाका बारेमा सरकारले जनतामा त्रास नभई आशा जगाउन सक्नुपर्नेमा जोड दिँदै यसमा ८० प्रतिशत सङक्रमितलाई केही हुँदैन, १५ प्रतिशतमा मात्र लक्षण देखा पर्ने हो र बाँकी पाँच प्रतिशतमा मात्र जोखिम हुने भएकाले त्यसलाई ध्यानमा राखी उपचार गर्दा रोग फैलिन पाउँदैन । जर्मनीले पनि यसैअनुसार काम गरेकाले ठूलो नोकसानी हुन नपाएको प्रा.डा.श्रेष्ठको भनाइ छ।

जर्मनीजस्तै नेपाल पनि संघीय गणतन्त्र र समाजवादी व्यवस्था अवलम्बन गरेका मुलुक भएकाले जर्मनीले झैँ शिक्षा र स्वास्थ्य सम्पूर्णरुपमा राज्यले निःशुल्क गर्नुपर्दछ र यस्तो विपद्को समयमा राज्यले सहजीकरणको भूमिका खेल्नुपर्नेमा प्रा.डा.श्रेष्ठले जोड दिएका छन्। सरकारले शुरु गरेको स्वास्थ्य वीमालाई यहाँ पनि अनिवार्य बनाउनुपर्ने डा.श्रेष्ठले भनेका छन्। कोरोनाबाट विश्वका अधिकांश देशले ठूलो आर्थिक क्षति व्यहोर्दा पनि जर्मनीमा यसको असर एक प्रतिशतको हाराहारीमा मात्रै परेको छ।

बुढानीलकण्ड स्कुलबाट विसं.२०३८ सालमा प्रवेशिका परीक्षामा बोर्डमा परेका प्रा.डा.श्रेष्ठ अस्कल क्याम्पसबाट आइएस्सीमा पनि बोर्डमा परेपछि छात्रवृत्तिमा भारतको कोलकत्ताबाट एमबिबिएस गरेर अढाई वर्ष बीर अस्पतालमा सेवारत रहे। त्यसपछि जर्मनीको मेडिकल युनिभर्सिटीबाट छात्रवृति पाएर सन् २००५ मा पिएचडी गरेका हुन। र सन् २००९ मा पुनः अर्को पिएचडीको डिग्री पनि हासिल गरे।

सन् २०१२ देखि प्रोफेसरका रुपमा कार्य गर्न थालेका प्र्रा.डा.श्रेष्ठ हाल अमेरिका,बेलायत, इटाली, हङकङलगायत विभिन्न देशमा भिजिटिङ प्रोफेसरको रुपमा कार्यरत रहेका छन्। वर्षमा तीन÷चारपटक नेपाल आई मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट र शहीद गंगालाल हृदयरोग केन्द्रमा जटिल अवस्थामा रहेका मुटुका विरामीहरुको निःशुल्करुपमा शल्यक्रिया गर्ने कार्य पनि प्रा.डा.श्रेष्ठवाट हुंदैआएको छ।
(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७७ साल असार २१ गते आइतवार ।