ललितपुर। जात्रामय ललितपुरमा रातो मच्छिन्द्रनाथको जात्राको अन्तिम दिन आज बैशाख ३० गते आइतवार जावलाखेलमा भोटो देखाउने जात्रा सम्पन्न भएको छ। जावलाखेलमा रातो मत्स्येन्द्रनाथको रथको चारै कुन्नाबाट हिरामोती, मणि, माणिक्य आदि बहुमूल्य रत्न जडित पुरातात्विक महन्वको भोटो देखाइएको हो।

दुई महिना लामो जात्राको अन्तिम दिन भोटो देखाउने चलन अनुसार यो बर्षको जेठ महिनामा मलमास परेकोले एक महिना जात्रा छोटाएर बैशाख ३० गते भोटोजात्रा गरेको हो।
भोटोजात्रामा ललितपुरकी जीवित देवी कुमारी, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगायतले भोटो जात्रा अवलोकन गरी प्रसाद ग्रहण गरेका थिए।

राष्ट्रपति भण्डारी, प्रधानमन्त्री ओली लगायत गन्यमान्य विशेष अतिथिहरुलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, उपमेयर गीता सत्याल, १६ नंबर वडाका वडा अध्यक्ष निर्मलरत्न शाक्य लगायतले स्वागत गरेका थिए।

लिच्छवीकालदेखि रातो मत्स्येन्द्रनाथको जिम्मामा रहेको भनिएको भोटोका वास्तविक हकदारले सबुद प्रमाण पेश नगरेसम्म भोटो मत्स्येन्द्रनाथकै जिम्मामा रहने विश्वास अनुसार हरेक बर्ष राष्ट्र प्रमुखको उपस्थितिमा भोटो देखाउने प्रचलन रहेको छ।

भोटो देखाउने जात्रासंगै रातो मत्स्येन्द्रनाथको जात्रा पनि सम्पन्न भएको छ। जावलाखेलबाट रातो मन्छिन्द्रनाथलाई सानो खटमा राखेर विधिपूर्वक बुङ्गमती पुर्‍याइएको छ ।


प्रकाशन मिति–२०७५ साल बैशाख ३० गते आइतवार ।