काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौ क्षेत्र नंबर २ मा वाम गठबन्धनलाई सहयोग गर्ने भएको छ। नेपाली कांग्रेससँग चुनावी तालमेल गरेको राप्रपालाई काठमाडौंका १० वटा निर्वाचन क्षेत्रमध्ये ७ नम्बरमा राप्रपाका विक्रमबहादुर थापालाई सहयोग गर्ने र अरु क्षेत्रमा राप्रपाले कांग्रेसलाई सहयोग गर्ने सहमति भएको थियो। यद्यपि काठमाडौ क्षेत्र नंबर २ मा भने त्यो सहमति लागू नहुने भएको छ।

स्थानीय तहको निर्वाचनमा ४ हजार आठ सय ५१ मत ल्याउँदै शंखरापुर नगरपालिकाका दुई स्थान जितेको राप्रपाले वाम गठबन्धनलाई सहयोग गर्ने भएपछि बाम गठवन्धनका उम्मेदवार नेपालको जित सुनिश्चित जस्तो भएको छ। पार्टीको सक्रिय भूमिकामा नरहे पनि त्यस क्षेत्रको मतका लागि निर्णायक मानिने दैवमेहर श्रेष्ठले आफूहरु प्रतिनिधिसभाका लागि भोट वाम गठबन्धनका उम्मेदवार माधवकुमार नेपाललाई दिने सहमति भएको दाबी गरेका छन्।

दैवमेहेर पञ्चायतकालिन प्रभावशाली नेता तथा मन्त्री अनि सांखुका स्थानीय जोगमेहेर श्रेष्ठका भाइ हुन। ‘हाम्रो पक्षको मत प्रतिनिधिसभातर्फ माधव कुमार नेपालजीलाई दिने निर्णयमा पुगेका छौं, शनिबार वाम गठबन्धनको क्षेत्रीय चुनावीसभा थलीमा अतिथिका रुपमा उपस्थिति भएका श्रेष्ठले भने, ‘राष्ट्रिय राजनीतिका लागि उहाँ जत्तिको व्यक्तिको आवश्यकता छ भनेर हाम्रो पार्टीले उहाँलाई सहयोग गर्ने भएका हौं ।’ प्रदेशसभातर्फ भने राप्रपाले रमेश नापितलाई उम्मेदवार बनाएको छ।

स्थानीय तहको चुनावमा वडा अध्यक्षको मतलाई आधार मान्दा त्यस क्षेत्रमा वाम गठबन्धन बलियो देखिन्छ। स्थानीय चुनावमा एमालेले १९ हजार १९६, कांग्रेसले १५ हजार ६२७, माओवादीले ५ हजार सात ३४ मत पाएका थिए। ४ हजार आठ सय ५१ मत भएको राप्रपाले समेत सहयोग गर्ने भएपछि वाम गठबन्धन झन बलियो देखिएको छ। काठमाडौं–२ मा नेपाली कांग्रेसले निवर्तमान सांसद दीपकप्रसाद कुइँकेलाई प्रतिनिधिसभाको उम्मेदवार बनाएको छ।
प्रकाशन मिति–२०७४ साल मंसीर १३ गते बुधवार ।