काठमाडौ। विश्वमा आठजनाको अनुहार धेरैजसो जस्ताको तस्तै मिल्ने गरेको पाइएको छ। जसको कारण कतिपय अवस्थामा ती आठजना मध्ये कोही न कोही कही न कही कसैले न कसैले भेट्ने गरेको पाइएको छ। यो ध्रुबसत्य कुरा हो।

यस ध्रुबसत्य कुरा नेपालभाषाका चर्चित अभिनेता रुपेन्द्र श्रेष्ठको विषयमा पनि सावित भएको छ। कति धेरै मान्छेले रुपेन्द्रलाई पहिलो पल्ट भेट्ने प्राय बुनियाद गीतका चर्चित गायक रामकृष्ण ढकाल भनेर झुक्किने गरेको पाइएको छ। बुनियाद गीतको माध्यमवाट नेपाली आधुनिक संगीतको क्षेत्रमा कुनैबेला एकछत्र राज गर्ने गायक रामकृष्ण ढकालको अनुहारसंग जस्ताको तस्तै अनुहार मिल्ने गरेको कारण रुपेन्द्र कतिपय स्थानमा हैरान नै बन्ने गरेका छन्।

धेरैले रुपेन्द्रलाई रामकृष्ण ढकाल भनेर अटोग्राफ माग्ने देखि ठाउं–कुठाउं गीत गाउन कर गर्ने गरेवाट रुपेन्द्र हैरान बन्ने गरेका छन्। त्यसरी झुक्किने सवैलाई आफू रामकृष्ण ढकाल नभइकन रुपेन्द्र श्रेष्ठ भएको जिकिर गर्दासमेत नपत्याएर ठूलो गायक हुं भन्दैमा हामीलाई झुक्याउने भनेर उल्टै गाली गर्ने पाइएको उनको गुनासो रहेको छ।

गायक समेत रहेका नेपालभाषाका यी रंगकर्मी अभिनेता रुपेन्द्र श्रेष्ठले गायक रामकृष्ण ढकालले जस्तो सयौ गीत गाएका छैनन्। तीनवटा गीत मात्र गाएका छन्। ती तीन गीत मध्ये मुसु–मुसु न्हिला बोलको गीतल यो बर्षको पेज–थ्री अवार्ड समेत जितिसकेका छन्। त्यसैगरेर फिल्म तिन तिकः महा बिकःवाट पेज–थ्री बेस्ट एक्टर अवार्ड पनि यो बर्ष रुपेन्द्रकै पोल्टामा परेको छ। २२ वटा गीत लेखिसकेका छन्। यसोभएतापनि आफूलाई गायक भन्दा नायक अझ कलाकार मात्र भनेको बढी रुचाउने रुपेन्द्रको अभिनय यात्रा प्रारम्भ भएको २० बर्ष पुगिसकेको छ।

हरिहर शर्मा, अशेष मल्ल, बीरेन्द्र हमाल तथा प्रभाकर शर्मासंग अभिनय सिकेर फिल्मलाइनमा लागेको खुलासा गर्ने रुपेन्द्रले नेपालीमा भन्दा बढी नेपालभाषाका साना तथा ठूला पर्दाका चलचित्रमा अभिनय गरेका छन्। सुभाय, चन्द्रमान, तीन तिकं महाबिकं, बालाँमयजु,पागलपन, एक से एक, मिखाँ दुम्ह काँ, डाड–सन एण्ड मम,ख्वताबजी, समयबजी लगायत हाल रिलिज हुने तर्खरमा रहेको नेपालभाषाको अत्यन्त चर्चित फिल्म लाखेभाजुमा समेत प्रमुख क्यारेक्टरमा रुपेन्द्रले अभिनय गरेका छन्।

दर्जनौ गीतका भिडियोमा पनि त्यतिकै सफल अभिनय गरेका रुपेन्द्र राम्रा क्यारिकेचर मास्टर पनि हुन्। शेरवहादुर देउवा, रामचन्द्र पौडेल, केपी शर्मा ओली जस्ता प्रखर नेता तथा ख्यातिप्राप्त हांस्यअभिनेता हरिबंश आचार्यको क्यारिकेचर जस्ताको तस्तै गरेर सवैलाई कायल पार्न सक्ने कलाकारका रुपमा पनि उनलाई लिइने गरेको छ।

त्यसमाथि भद्रगोल सिरियलका पाँडेको पनि मज्जाले क्यारिकेचर गरेर पाँडेलाई समेत माथ खुवाउने कार्य उनीवाट साथीभाइको मेहफिलमा गर्ने गरेका छन्। गितार, मादल, धिमे, तबला, ड्रम लगायतका बाजा बजाउन सक्ने कुशल सीप पनि उनमा रहेको छ।

प्रकाशन मिति–२०७४ साल पुष ३० गते आइतवार ।