काठमाडौं। कोरोनाको कहरमा जारी लकडाउनको ५१ औं दिन अर्थात बैशाख ३१ गते बुधवार काठमाडौंको महाराजगञ्ज स्थित शितल निवास राष्ट्रपति भवन अगाडि भयानक आगलागी हुंदा पनि समयमा नियन्त्रण हुन सकेन।

गोकर्ण वहादुर हमालको घरमा रहेको सजावट फूल पसलमा विद्युत सर्किटका कारण भित्रभित्रै फैलिएको आगोले पसललाई खाग बनाइसक्दा पनि समयमा आगो निभाउने दमकल आएन। दिउंसो १ः३० बजेतिर लागेको आगो फैलिसक्दा उक्त घरमा सपरिवार बसेका घरधनी गोकर्ण वहादुर हमाल परिवार अतालिएर अनेक पटक दमकलको १०१ नंबरमा कल गर्दा पनि फोन उठेको थिएन।

घरअगाडि राष्ट्रपति भवन छ। त्यसको केही मिटरको दूरीमा प्रहरी प्रतिष्ठान रहेको छ। त्यसनजिक कान्ति अस्पताल परिसर तथा कान्ति सांस्कृतिक भवन पनि रहेको छ। वरपर नेपाल प्रहरी तथा नेपाली सेना पनि तैनाथ थिए। तर, पसल खाग हुनेगरी आगलागी भैसक्दा पनि कसैको सहयोग नभएको घरधनी गोकर्ण वहादुर हमालका गायक छोरा समिर हमालले बताएका छन्।

कैयन पल्ट दमकलको १०१ नंबर कलमा फोन गर्दा पनि फोन नउठेपछि आफूहरु तथा साथीभाइको सहयोगवाट अनेक उपाय गरेर आगो निभाइसक्दा दमकल आएको त्यो क्षणमा आफूलाई अत्यन्त रिस उठेको गायक हमालको भनाई रहेको छ। टाइममा दमकल आउन नसक्ने दमकलको केही अर्थ नभएको र जनताको लागि तैनाथ गरिएको दमकल आखिर जनतालाई आपत पर्दा काम आउंदैन भने त्यो दमकलको कुनै अर्थ नभएको गायक हमालको तर्क रहेको छ।

अर्कोतर्फ, राष्ट्रपति भवन अगाडि तैनाथ प्रहरी तथा सेनावाट पनि सहयोग नहुनु विडम्वना भएको हमालको दुःखेसो रहेको छ। साथीभाइ तथा छिमेकको सहयोगको कारण आफूहरुको परिवार खरानी हुनवाट जोगेको त्यो क्षण तथा पललाई गायक हमालले सवैलाई धन्यवाद भनेका छन्।

काठमाडौंको मुटु काठमाडौं महानगरपालिका वडा नंबर ३ स्थित राष्ट्रपति भवन अगाडिको घरमा त आगो लाग्दा कुनै सहयोग हुंदैन भने अन्त दूरदराजका स्थानमा त्यस्तो घटना भएमा समयमा नागरिकको जीउधनको रक्षा हन्छ भन्ने कुनै ग्यारेन्टी नभएको सर्वसाधारणको भनाई रहेको छ। आगलागीवाट सटर लगायत पसलका सवै सामान ध्वंस्त नै बनेको छ। जसवाट लाखौं लाख नोक्सान हुन पुगेको छ।


प्रकाशन मिति–२०७७ जेठ १ गते विहीवार ।