काठमाडौ। थाइल्यान्ड र श्रीलङ्काको पाँचदिने औपचारिक भ्रमणका लागि आज शुक्रबार थाइल्यान्ड पुगेकी नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीका सम्मानमा नेपालका लागि त्यहाँका राजदूत खगनाथ अधिकारी र श्रीमती अधिकारीले बैंककस्थित नेपाली दूतावासमा स्वागत समारोह आयोजना गरेका छन्।

Bidya-Devi-Bhandari-President-of-Nepal

सो अवसरमा राष्ट्रपति भण्डारीले ठूलो सङ्ख्यामा उपस्थित नेपाली समुदायलाई सम्बोधन गरेकी थिइन्। समारोहमा सवारीमन्त्री केशवकुमार बुढाथोकी, राष्ट्रपतिका विदेश मामिलाविज्ञ डा. मदनकुमार भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेललगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता रहेको बैंककस्थित नेपाली राजदूतावासले जनाएको छ।

राष्ट्रपति भण्डारी शनिबार बैंककबाट श्रीलङ्काको राजधानी कोलम्बोतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । बुद्धजयन्तीका अवसरमा श्रीलङ्काले मनाउन लागेको संयुक्त राष्ट्रसङ्घीय वैशाख सम्मेलनको समापन समारोहमा राष्ट्रपति भण्डारी प्रमुख अतिथिका रुपमा सहभागी हुने भएकी छन्। वैशाख २९ गते श्रीलङ्काको राजधानी कोलोम्बोमा सुरु भएको सो सम्मेलनको समापन वैशाख ३१ गते श्रीलङ्काकाको दोस्रो ठूलो शहर क्यान्डीमा हुनेछ।

यसअघि ग्रान्ड प्यालेसमा राखिएकोे थाइल्याण्डका स्वर्गवासी राजा भूमिबल अदुल्यादेजको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गरेकी थिइन्।
राष्ट्रपति भण्डारीले ग्रान्ड प्यालेसमा राखिएको शोक पुस्तिकामा पनि हस्ताक्षर गरेकी थिइन्। त्यहाँ पुग्दा भण्डारीलाई थाई नरेशका प्रतिनिधि र उच्च पदाधिकारीले स्वागत गरेका थिए।

गत वर्ष असोज २७ गते निधन भएका थाई राजा भूमिबलको पार्थिव शरीर ग्य्रान्ड प्यालेसमा राखिएको छ। उनको अन्त्येष्टि बौद्धधर्म परम्परानुसार आगामी कात्तिक ९ गते त्यही प्यालेसको एउटा गार्डेनमा गरिने जनाइएको छ। राजा भूमिबलको निधनपछि विश्वका विभिन्न मुलुकका राष्ट्र प्रमुख तथा नेता बैंकक पुगेर उनको पार्थिव शरीरमा माल्यापर्ण गर्दै आएका छन्। राष्ट्रपति भण्डारी आगामी जेठ २ गते स्वदेश फर्कने भएकी छन।
प्रकाशन मिति–२०७४ साल बैशाख २९ गते शुक्रबार ।