काठमाडौ। भारतीय सिमानामा काँडेतार लगाउनु पर्दछ भन्ने राष्ट्रवादी अभियानमा लागेका राष्ट्रवादी अभिनेताको नाम नवल खड्का हो। कुनैबेला खोटाङवाट काठमाडौ झर्दा मन्त्री बन्छु भन्ने ठूलो सपना बोकेर साहित्य–उपन्यास तथा फिल्मको रंग हुंदै राजनीतिमा समेत चुर्लुम्म डुवेका नवल खड्का स्वाभिमानी कलाकार पनि हुन्।

नवल खड्काको ख्यातिप्राप्त गायिका सत्यकला राईसंग आठ बर्षअगाडि प्रेम विवाह भएको हो। यी आदर्श दम्पतिवाट दुई नानीहरुको जन्म भएको छ। दुईको नाम नादिया र सान्या हो। दुवै नानीहरु अत्यन्त रमाइली रहेकी छन्। झण्डै झण्डै जुम्ल्याहा जस्तो देखिएतापनि यी दुवै नानीको उमेरमा दुई बर्षको फरक छ।

यतिखेर गायिका सत्यकला राई एकल म्युजिकल टुरका क्रममा बेलायतको राजधानी लण्डनमा रहेकी छन्। लण्डनमा गायिका राईको एक महिने सांगीतिक टुर रहेको छ। यसक्रममा गायिका राईले लण्डनका विभिन्न स्थानहरुमा विभिन्न सांगीतिक कार्यक्रमका साथ बेलायतमा रहेका नेपालीहरुको मन जितिसकेकी छन्।

यता नेपालमा भने, गायिका राई बेलायत गएदेखि दुई छोरीहरुको देखभाल गर्ने संपूर्ण जिम्मेवारी पिता नवल खड्काको काँधमा आएको छ। जतिसुकै व्यस्तता भएतापनि सत्यकला राई बेलायतको सांगीतिक टूरवाट नेपाल नफर्कञ्जेल ती दुई नानीहरुको आमा तथा बुवा दुवैको भूमिका निर्वाह गर्ने कार्य नवल एक्लैले गरिरहेका छन्। यो नवलको नानीहरुप्रतिको अगाध माया तथा पत्नी सत्यकलाप्रतिको समर्पण हो।

विहान उठेदेखि नानीहरुको देखभाल गर्ने देखि खुवाउने–पिलाउने र स्कुलसम्म पुर्याउने तथा फेरि लिन जाने अनि राति उनीहरुलाई नुनु गर्दै सुताउने कार्यसमेत नवलवाट हुंदैआएको छ। यता सत्यकला पनि बेलायतको सांगीतिक टूरमा आउने दिन देखि हालसम्म श्रीमानले आफू नहुंदाको संपूर्ण जिम्मेवारी बहन गरिदिएकोमा असाध्यै खुशी बनेकी छन्। हर रात तथा दिनमा छोरीहरुसंग भिडियो कलवाट कुरा भैरहेको र बाबा नवलवाट गर्दैआएको सवै क्रियाकलापवाट आफू अत्यन्त खुशी तथा गर्बित बनेकी प्रतिक्रिया दिएकी छन्।

नवल पनि आफूहरुको ज्यान तथा जिन्दगी भन्नु नै देश र नानीहरुको लागि भएको बताउंछन्। श्रीमान–श्रीमतीमा एकले अर्कोलाई साथ र सहयोग गरेर अगाडि बढेमा मात्र परिवार बन्ने र परिवार बनेपछि समाज, गाउं–गाउं हुंदै देश बन्ने नवलको तर्क रहेको छ। नवल चलचित्र निर्माता संघ नेपालका अध्यक्ष हुन्। उनले दर्जनौ चलचित्रमा अभिनय गरिसकेका छन्। आवाज, भीमदत्त लगायतका राष्ट्रवादी चलचित्र निर्माण तथा निर्देशन गरिसकेका छन्।

प्रकाशन मिति–२०७५ साल बैशाख ७ गते शुक्रबार ।