काठमाडौ। राष्ट्रियसभा सदस्यको यही माघ २४ गते हुने निर्वाचनमा उम्मेदवारी दिएकामध्ये पाँच राजनीतिक दलका २४ उम्मेदवार निर्विरोध निर्वाचित भएका छन्।


निर्वाचन आयोगका अनुसार नेकपा एमालेका नौ, नेपाली काँग्रेसका आठ, नेकपा माओवादी केन्द्रका तीन तथा सघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालका दुई दुई उम्मेदवार निर्विरोध भएका हुन् । राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका ८२ मध्ये २४ जना निर्विरोध भएपछि बाँकी ५६ जना चुनावी प्रतिस्पर्धामा हुने भएको छ।

निर्विरोध हुने एमाले उम्मेदवारमा परशुराम मेघी गुरुङ, हरिचरण शिवाकोटी, नैनकला ओझा, सुमनराज प्याकुरेल, कोमल ओली, मीना बुढा, शेरबहादुर कुँवर, इन्दु कडरिया र कमलाकुमारी ओली रहेका छन्। त्यस्तै नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार भएकामध्ये रमेशजंग रायमाझी, सरिता प्रसाईं, जीतेन्द्रनारायण देव, मुक्ताकुमारी यादव, प्रकाश पन्थी, अनिता देवकोटा, बद्री पाण्डे र तारादेवी भट्ट राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित बनेका छन्।

निर्वाचन आयोगका अनुसार माओवादी केन्द्रका तर्फबाट वीना पोखरेल, शशीकला दाहाल र हरिराम चौधरी निर्विरोध बनेका हुन्। फोरमका रामपुत पासवान र प्रमिला कुमारी तथा राजपाका रमेशप्रसाद यादव र वृषेशचन्द्र लाल राष्ट्रियसभा सदस्यमा निर्विरोध निर्वाचित भएको हो।
प्रकाशन मिति–२०७४ साल माघ १५ गते सोमवार ।