kamal-thapa-with-pashupati-samsher-rana

काठमाडौ। एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीमा तल्लोदेखि माथिल्लो तहसम्म राजतन्त्रको विषयमा तीव्र बहस सुरु भएको छ। गणतन्त्रलाई स्विकारेर जाने कि राजासहितको प्रजातन्त्रको एजेन्डालाई अघि बढाउने विषयमा दुई अध्यक्षको नेतृत्वमा दुई लाइन बहस देखिएको हो।

फागुन पहिलो साता हुने महाधिवेशनमा केन्द्रित भई दुई धारका नेता–कार्यकर्ता ध्रुवीकृत हुन थालेका छन्। कार्यकारी अध्यक्ष कमल थापा समूहले राजासहितको प्रजातन्त्र पार्टीको सिद्धान्त हुनुपर्ने अडान राखेको छ।

राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा नेतृत्वको समूहले भने गणतन्त्रको विपक्षमा जान नसकिने अडान राख्दै आएको छ। हिन्दु राष्ट्र र राजतन्त्र प्रमुख एजेन्डा रहेको थापा नेतृत्वको राप्रपा नेपाल र गणतन्त्र पक्षधर राप्रपाबीच एकीकरण घोषणा भए पनि पार्टीको एजेन्डाबारे भने टुंगो लागिसकेको छैन।

राणा पक्ष हिन्दु राष्ट्रमा तत्काल सहमतिमा आउने भएपछि पार्टी एकीकरण भएको थियो। राजतन्त्रको विषयलाई भने फागुन ६ देखि ९ गतेसम्म हुने महाधिवेशनमा टुंगो लगाउने निधो भएको थियो। राणा पक्ष गणतन्त्र नछाड्ने र थापा पक्षले राजतन्त्र नछाड्ने भएकाले साझा विन्दु के हुन सक्छ भनी बहससमेत भइरहेको छ।

राप्रपाका कतिपय नेताले गणतन्त्र र धर्मनिरेपेक्षताका विषयलाई जनमतसंग्रहमा लैजाने विषयलाई साझा विन्दु हुन सक्ने तर्क अघि सारेका छन्।
प्रकाशन मिति–२०७३ साल पुष १२ गते मंगलवार ।