काठमाडौं। बागमती प्रदेशवाट रिक्त भएको राष्ट्रिय सभा सदस्य पदमा स्वतन्त्र उम्मेदवार खिमलाल देवकोटा विजयी भएका छन् । देवकोटाले नेकपा (एमाले)का उम्मेदवार रामबहादुर थापालाई पराजित गर्दै निर्वाचित भएका हुन् । देवकोटाले स्वतन्त्र रुपमा उम्मेदवारी दिए पनि नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमाले नेपाल–खनाल समूहको समर्थन रहेको थियो।

प्रदेशतर्फ एकमत बराबर ४८ मतभार र स्थानीयतर्फ एक मत बराबर १८ मतभार रहेको छ । जसअनुसार देवकोटाले कुल प्रदेशतर्फ २७८४ मतभार र स्थानीयतर्फ २३०४ मतभार गरी कुल ५०८८ मतभार प्राप्त गरेका छन्। थापाले प्रदेशतर्फ २१६० र स्थानीय तहतर्फ १८५४ गरी कुल ४०१४ मतभार प्राप्त गरेका थिए। तामाङले प्रदेशतर्फ ९६ र स्थानीय तहतर्फ ३६ गरी कुल ८४ मत भार प्राप्त गरेका छन्।

 

बिहीबार बिहान नौ बजेबाट हेटौंडा–४ स्थित भुटनदेवी उमाविमा सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको थियो। आयोगका अनुसार राष्ट्रिय सभा सदस्यका लागि चारजना प्रदेश सांसदले मतदान गरेनन्। वाग्मतीमा रहेका १०९ सांसदमा १०५ जनाले भोट हालेका छन् । ११० सदस्यीय प्रदेश सभाका पशुपति चौलागाईंको निधन भएपछि १०९ कायम भएको थियो। स्थानीय तहतर्फ पाँचजना मतदान प्रक्रियामा सहभागी भएनन् । आयोगका अनुसार ११९ पालिकातर्फ २३८ मतदाता थिए । जसमा २३३ जना मतदानमा सहभागी भएका थिए ।
प्रकाशन मिति–२०७८ साल जेठ ६ गते विहीवार ।