काठमाडौं। नेपालमा व्युटीपार्लर व्यवसाय अत्यन्त प्रतिष्ठत व्यवसाय बन्दैगएको छ। यो व्यवसाय एक सफल उद्योगको रुपमा पनि विकास हुंदैगएको छ। महिला दिदीबहिनीहरुको रोजगारीको अत्यन्त राम्रो व्यवसायको रुपमा प्रतिस्थापित बनिसकेको छ। यस व्यवसायमा लाखौं लाख महिला दिदीबहिनीहरु लागिपरेका छन्।

स्वदेशमा मात्र नभइकन विदेशमा समेत नेपाली व्युटीसियनहरुले निक्कै ख्याति कमाइरहेका छन्। उनीहरुको कार्यको दिल खोलेर तारिफ गर्ने स्वदेशी तथा विदेशीहरुको कुनै कमी छैन्। अझ नेपाललाई राम्रा व्युटीसियन जन्माउने देशको रुपमा पनि विश्वमा चिनिन थालेको छ। यसरी चिनाउने कार्यमा नेपालका ख्यातिप्राप्त मेकअप आर्टिष्ट एवम् सौन्दर्यविज्ञ रुश्का बैद्य श्रेष्ठको पनि धेरै मेहनत र हात रहेको छ।

सौन्दर्यविज्ञ रुश्का बैद्य श्रेष्ठको काभ्रेको बनेपा तथा काठमाडौंको नक्साल भगवती वहाल स्थित स्कुल अफ व्युटीसियन आइटीसी स्किल डेभलेपमेन्ट सेन्टर मार्फत हजारौं हजार महिला दिदीबहिनीहरुलाई व्युटीपार्लर व्यवसायको सीप सिकाएर रोजगार बनाउने कार्य भएको छ। रुश्कासंग व्युटीपार्लरको डिप्लोमा कोर्श गरेर सीपवान बनेर स्वदेश तथा विदेशमा प्रतिष्ठाको रोजगारी गर्ने कार्य भैरहेको छ। जसवाट निक्कै नै आफूलाई गौरबता महशुश हुने गरेको रुश्काले भनेकी छन्।

विगत दुई दशकदेखि व्युटीपार्लर व्यवसाय तथा शिक्षणमा निरन्तर लागिरहेकी रुश्का सीटीभीटीमा व्युटीपार्लर शिक्षाको करिकुलम अर्थात पाठ्यक्रम निर्माण देखि यसको उच्चतहको परीक्षा लिने कार्यमा पनि क्रियाशील रहेकी छन्। सीटीभीटीको करिकुलम अनुसार व्युटीपार्लरको शिक्षा दिने कार्यमा अग्रता दिदैआएकी रुश्काको स्कुल अफ व्युटीसियन आइटीसी स्किल डेभलपमेन्ट सेन्टरमा व्युटीपार्लर सिक्ने विद्यार्थीहरुको विशेष आकर्षण र भीड रहेको छ।

व्युटीसियन स्कुलको रुपमा नै अग्रता दिने कार्य गर्दैआएकी रुश्काको यसलाई व्युटिसियनको विश्वविद्यालय नै बनाउने योजना रहेको छ। अत्यन्त सकारात्मक सोच र सोचमा नयाँपनको विकास गर्दै हरदम अगाडि बढ्रिहेकी रुश्काले प्रारम्भमा आइटीसी सेन्टरवाट व्युटीसियनको कोर्श गरेकी हुन्। त्यसपछि, नेपालका अग्रज व्युटीसियनहरु विनु श्रेष्ठ मालाकार देखि डा.राज्यश्री श्रेष्ठसंग व्युटीसियनको शिक्षा लिएकी रुश्काले बेलायतको इलामास्का स्कुल अफ लण्डनवाट प्रोफेसनल मेकअप आर्टमा डिप्लोमा कोर्श पास गरेकी छन्। श्रीलंका पुगेर पनि व्युटी कोर्श गर्ने कार्य रुश्कावाट भएको छ। त्यसैगरेर, सिंगापुरवाट नेल आर्ट टेक्निसियनमा ग्राजुयेट गरेकी रुश्का विवाह पश्चात मात्र यो पेशामा लागेकी हुन्।

त्यो पनि श्रीमान रविभक्त श्रेष्ठको साथ र प्रेरणावाट व्युटीसियन बनेको सगौरब रुश्काले भनेकी छन्। अमृत साइन्स क्याम्पसमा बीएससी पढ्दै गर्दा रुश्काको सोच आर्टिटेक इञ्जिनियर बन्नु थियो। आर्टिटेक इञ्जिनियर बन्ने मोडमा नै रहेकी रुश्का त्यो बेला एक छोरा र एक छोरीको आमा बनेपछि ब्रेक लाग्यो। चाहेर पनि आर्टिटेक इञ्जिनियर बन्न समय र परिस्थितिले नदिएपछि छोरा–छोरी हुर्केपछि श्रीमानकै प्रेरणाले व्युटीसियन पेशामा लागेको रुश्काले सगौरब बताएकी छन्।

आर्टिटेक इञ्जिनियर बनेको भए, सिमित व्यक्ति विशेषको घरको नक्शा डिजाइन गरेर सिमित भएर बसिन्थ्योहोला, सिमित घेरामा आर्टिटेक इञ्जिनियर भएर चिनिन्थ्योहोला। व्युटीसियन पेशामा लाग्दा लाखौं लाखमाझ चिनिन पाउंदा यसमा अत्यन्त आत्म–संतुष्टि मिलेको रुश्काले भनेकी छन्। नयाँ सोच र चाहना अनुरुप हेयर स्टाइलको डिजाइन तथा मेकअपको डिजाइन कोरेर हजारौं हजारलाई शिक्षित बनाएर रोजगारी दिने कार्य यस पेशावाट हुंदा आफूलाई अति भाग्यमानी मध्येको एक भएको महशुश गरेको पनि रुश्काले बताएकी छन्। व्युटीपार्लरको सेवा र शिक्षा दुवै दिने कार्य रुश्कावाट भैरहेको छ।

काठमाडौंको सोह्रखुट्टे स्थित पकनाजोल गणेशस्थानमा जन्मेकी रुश्काको विवाह बनेपामा भएको हो। काभ्रेको बनेपामा प्रतिष्ठित स्कुल अफ व्युटीसियन आइटीसी स्किल डेभलेपमेन्ट सेन्टर संचालन गर्ने पहिलो सौन्दर्यविज्ञ रुश्का नै हुन्। काठमाडौंको छोरी र बनेपाकी बुहारी हुनुको गौरबता अनि सौन्दर्यताको विज्ञताले उच्चस्थानमा पुगेकी रुश्का दर्जनौ दर्जन सम्मान तथा अवार्डवाट सम्मानित बनिसकेकी छन्।

सयौं सौन्दर्य प्रतियोगिता तथा सेमिनारहरुमा जज बन्ने कार्य पनि रुश्कावाट भएको छ। अर्कोतर्फ रुश्का सौन्दर्यको मोडल तथा डिजाइन तयार पार्ने कार्यमा पनि अहोरात्र लागिरहेकी छन्। यसले गर्दा पनि रुश्कालाई सौन्दर्यको इञ्जिनियर पनि भन्ने गरिएको छ।
(नामी साप्ताहिकवाट साभार)
तस्वीर डिजाइन–पवन जोशी
प्रकाशन मिति–२०७५ साल चैत्र ८ गते शुक्रवार ।