काठमाडौं। रेक्स फेसन होमको आयोजनामा यो बर्ष पनि भव्य तथा सभ्य रुपमा काराओके आइकन हुने भएको छ। अघिल्लो बर्षवाट शुरु भएको यो काराओके आइकन २०२० का लागि यही कात्तिक १६ गते काठमाडौंवाट अडिसन शुरु हुने आयोजक फेसन होमका अध्यक्ष खगेश रञ्जितकारले मंगलवार आयोजित पत्रकार सम्मेनमा भनेका छन्।

‘गीत संगीतमा रमाउँ, नाचौँ, धेरै बाँचौँ’ भन्ने नाराका साथ गत वर्षवाट शुरु भएको काराओके आइकन आधुनिक तथा पप विधामा प्रतिस्पर्धा हुने जानकारी पनि अध्यक्ष रञ्जितकारको भनाई छ। नयाँ तथा पुराना प्रतिभाहरुको लागि गजबको प्लेटफर्म बन्ने काराओके आइकन २०२० को नेपालको सातै प्रदेशमा अडिसन हुने भएको छ।

पहिलो अडिसनबाट १ सय ५० जना छनोट गरी टप–५० लाई सेमिफाइनमा इन्ट्री दिइने भएको छ। ग्राण्ड फिनालेका लागि टप–२५ को प्रतिस्पर्धा हुनेछ । ‘काराओके आईकन’मा सहभागी हुनका लागि निश्चित मापदण्ड तोकिएको छ। आयोजकका अनसार प्रतियोगीले नेपाली आधुनिक र पप गीतको ट्रयाकमा मात्र गाउन पाउनेछन् । जसमा आफूले गाउन चाहेको गीतको ट्रयाक प्रतियोगी आफैले पनि छनोट गर्न सक्नेछ ।

प्रतियोगिताका लागि ख्यातिप्राप्त पप गायक भीम तुलाधर, गायिका बुनु राई मानन्धर र काराओके आइडल खगेश रञ्जितकार निर्णायकको भूमिकामा छन्। कार्यक्रममा बोल्दै निर्णायकमध्येका गायक तुलाधरले ‘काराओक आईकन’ नेपाली गीतसंगीत क्षेत्रका लागि सकरात्मक रहेको बताए ।  उनले भने, ‘७/८ वर्षअघिसम्म काराओके गाउन नेपाली म्युजिक ट्रयाक नै पाइँदैनथ्यो। गाउन चाहनेले हिन्दी गीतमा गाउनुपर्दथ्यो । तर, यो कार्यक्रमले नेपालीमा पनि काराओके गाइन्छ भन्ने सन्देश दिएको छ । यो सर्जकका लागि खुसीको कुरा हो।’

यस प्रतियोगिताका विजेतालाई २ लाख रुपैयाँ नगदका साथै एक म्युजिक भिडियो र अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागी गराइने जनाइएको छ। त्यस्तै, दोस्रोलाई नगद ५० हजार र तेस्रोलाई नगद २५ हजार प्रदान गरिने जनाइएको छ। साथै, उनीहरुलाई आयोजकले एक–एक गीत तथा म्युजिक भिडियो निर्माण गरिदिने आयोजक रेक्स होमका अध्यक्ष रञ्जितकारले भनेका छन्।


प्रकाशन मिति–२०७६ साल कात्तिक ५ गते मंगलवार ।