काठमाडौ। नेपाली हिन्दू महिलाहरुको महान पर्व तीजको अवसरमा नेपाली संगीत बजारमा तीज गीतको बाढी नै आउने गरेको छ। पहिला पहिला क्यासेट, सीडी, भीसीडी तथा डीभीडीमा आउने गरेको भएतापनि त्यो ट्रेन्ड भने हटिसकेको छ।

तीजका लागि आउने ती तीज गीतहरु युट्युब च्यानलहरुवाट रिलिज गर्ने नयाँ ट्रे्न्ड बनिसकेको छ। युट्युब च्यानलवाटै तीजको अवसरमा छमछमी नाच्न र नचाउनका लागि हिजोआज तीज गीतका भिडियो खिच्न र खिचाउन स्रष्टा तथा कलाकारहरु व्यस्त बनिरहेका छन्।

यसक्रममा, नेपाली चलचित्रका प्रथम महिला संगीतकार रेखा पौडेलको संगीत तथा गायनमा नयाँ तीज गीत तयार भएको छ। डा.कृष्णहरि बरालको शव्दमा तयार भएको रेखा पौडेलको तीज गीतको भिडियो शनिवार छायाँकन भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर ३ बसुन्धरा स्थित सीमा पार्टी प्यालेसमा उक्त तीजको म्युजिक भिडियो छायाँकन भएको हो।

जसमा नेपालकी ख्यातिप्राप्त व्युटी एक्सपर्ट तथा व्युटी थेरापिष्ट सुशिला थापा र मोडल नितु कोइरालाको विशेष आकर्षण रहेको छ। दुवैले रेखा पौडेलको तीज गीतमा जमेर आफूहरुभित्रका अतुलनिय अभिनय पस्कने कार्य गरेका थिए। म्युजिक भिडियोको कोरियोग्राफी ओम श्रेष्ठको रहेको छ। चाँडै नै यस तीज गीतको भिडियो रिलिज हुने जानकारी पनि गायिका तथा संगीतकार रेखा पौडेलले वताएकी छन्।

प्रकाशन मिति–२०७७ साल साउन १७ गते शनिवार ।