काठमाडौं। विश्वमा छरिएर रहेका नेपालीहरुलाई एकिकृत गरेर नेपालको विकासमा योगदान दिने महान उदेश्य बोकेको हामी नेपाली ग्लोबलले नेपालको हितको लागि बृहत कार्य गर्ने भएको छ।

कुनैपनि धर्म, जाति तथा राजनीतिभन्दा माथि उठेर अमेरिकाको न्यूयोर्कमा गत नोभेम्बर २४ का दिन अमृत लामाको अध्यक्षतामा स्थापना भएको नेपालीहरुको अभूतपूर्व संस्था हामी नेपाली ग्लोबलले नेपालीलाई विदेश पलायन हुनवाट रोक्न अनेक कार्यक्रम ल्याउने उदघोष हामी नेपाली ग्लोबलका केन्द्रिय महासचिव मंगलदास श्रेष्ठले गरेका छन्।

महासचिव श्रेष्ठले शनिवार आयोजित हामी नेपाल ग्लोबलको नेपाल च्याप्टर स्थापना घोषणासभामा उक्त उदघोष गरेका हुन्। विश्वभर छरिएर रहेका नेपालीहरुलाई हामी नेपाली ग्लोबल मार्फत एकिकृत गरेर उनीहरुभित्र रहेका सीप, क्षमता तथा सहयोगलाई नेपाल र नेपालीको बृहत्ततर हितमा खन्याउने कार्य हुने महासचिव श्रेष्ठले भनेका छन्।

नेपालवाट नेपालीहरु हरेक बर्ष हजारौ हजारका संख्यामा विदेश पलायन हुनु परेको वाँध्यता नेपालमा रोजगारीको कुनै ग्यारेन्टी नहुनुले नै हो भन्ने ठहर पनि श्रेष्ठको रहेको छ। त्यसको लागि हामी नेपाली ग्लोबलले नेपालको पर्याप्त संभाव्यको क्षेत्र कृषि, पर्यटन, स्वास्थ्य र शिक्षामा लगानी गरेर पर्याप्त रोजगारी सिर्जना गर्नका लागि हामी नेपाली ग्लोबल क्रियाशील रहेको पनि महासचिव श्रेष्ठले भनेका छन्।

बेरोजगार उत्पादन गर्ने देशको रुपमा चिनिएको नेपाललाई रोजगार दिने देशको रुपमा विकास गर्न र गराउन आफूहरु क्रियाशील रहेको महासचिव श्रेष्ठले भनेका छन्। यस महान कार्यका लागि हामी नेपाली ग्लोबल नेपाल च्याप्टरको महत्वपूर्ण भूमिका र कार्य हुने पनि श्रेष्ठको भनाई रहेको छ।

विमल खड्काको नेतृत्वमा १५ सदस्यीय हामी नेपाली ग्लाबल नेपाल च्याप्टर स्थापना भएको घोषणा गरिएको छ। उत्साहित एक से एक कर्मशील नेपालीहरुलाई सदस्य बनाएर अगाडि बढ्ने सोच हामी नेपाली ग्लोबल नेपाल च्याप्टरले राखेको छ।

नेपाल च्याप्टरको अगुवाईमा आगामी मार्च महिनामा म्याग्दीमा एक से एक उत्कृष्ट डाक्टरहरुको सहभागितामा बृहत स्वास्थ्य शिविर गर्न लागेको जानकारी पनि कार्यक्रममा दिइएको छ। त्यसको अलावा बार्षिक क्यालेण्डर तयार पारेर नेपाल च्याप्टरले ग्लोबलको निर्देशानुसार कार्य गर्ने र गराउने भएको छ।
प्रकाशन मिति–२०७५ साल माघ १२ गते शनिवार ।