काठमाडौं। सांस्कृतिक संस्थानको आयोजनामा प्रत्येक महिनाको अन्तिम विहिवार सुरसाधना कार्यक्रम हुंदैआएको छ। यसैसन्दर्भमा यो असार महिनाको अन्तिम विहीवार नयाँ पुस्ताकी अत्यन्त सक्रिय तथा चर्चित गायिका रोजी डंगोल श्रेष्ठ एकल गायन सुरसाधना कार्यक्रम भएको हो।

सांस्कृतिक संस्थानले जनाएअनुसार गायिका रोजी डंगोल श्रेष्ठ सुरसाधनाको १२ ओं श्रृंखलामा बेजोड ढंगवाट प्रस्तुत भएकी हुन्। यस प्रस्तुतिमा गायिका रोजी डंगोल श्रेष्ठले चुनिएका ११ हिट गीतहरु प्रस्तुत गरेर सवैलाई मन्त्रमुग्ध बनाएकी थिइन्। युगल गीत गायनमा रोजीलाई गायकहरु सानुबाबु महर्जन, दीपेन्द्र बज्राचार्य, सुमित खड्काले साथ दिएका थिए।

रोजीलाई नेपालका ख्यातिप्राप्त हास्य अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठले समेत गायनमा साथ दिएका थिए। जुन बेजोड नै बनेको थियो। कोरस गायनमा भने,गंगा राई बुढाथोकी, प्रिति तामाङ, अमृता रेग्मीको साथ रहेको उक्त कार्यक्रममा वाद्यवादनमा कृष्ण गुरुङ, खर्कबहादुर बुढा, लोकराज राई, दुर्गा प्रसाद खतिवडा, तीर्थराज पोखरेल, दिपेन्द्र बज्राचार्य, सितामैंया राजचल, नरेश प्रजापति, भगिरथ सुस्लिङ, रविन कार्कीढली, आकाश गोर्खाली, राहुल भुजेलको साथ रहेको थियो ।

कार्यक्रममा कलाकार मनोज गजुरेल, सांसद कृष्ण राई, वरिष्ठ गायक प्रेमध्वज प्रधान, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले रोजीको सांगीतिक सक्रियताका बारे चर्चा गरेका थिए। गायिका रोजीकी पति वालचन्द्र श्रेष्ठले रोजीको सांगीतिक जीवनमा आफूले सक्दो सघाएको र सँधै सघाउने उल्लेख गर्दै रोजीका नामले आफू चिनिएकोमा निकै खुशी लागेको सुनाए ।

सांस्कृतिक संस्थानका महाप्रवन्धक राजेश थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा जनकवि दुर्गालाल श्रेष्ठ तथा विशिष्ट अतिथिका रुपमा वरिष्ठ गायक प्रेमध्वज प्रधान, राष्ट्रिय सभा सदस्य खेम नेपाली, सांसदहरु कृष्ण राई, मैनाकुमारी भण्डारी, वसन्त मानन्धर तथा प्राज्ञ कविता आले, पवित्रा घर्तीमगर लगायतको उपस्थिति रहेको थियो । सांस्कृतिक संस्थानका कार्यक्रम तथा योजना महाशाखा प्रमुख प्रभाकर शर्माले स्वागत गरेको कार्यक्रम संचारकर्मी सुरजवीर बज्राचार्यले सञ्चालन गरेका थिए ।
प्रकाशन मिति–२०७६ साल असार २७ गते शुक्रवार ।