काठमाडौं। संसद सचिवालयमा कार्यरत स्वास्थ्य समूहकी कर्मचारी रोशनी शाहीलाई बलात्कार गरेको आरोपमा महाअष्टमी आइतवारका दिन पक्राउ परेका पूर्वसभामुख कृष्णवहादुर महराको स्वास्थ्य परिक्षण भएको छ। आइतवार राति नै बीर अस्पतालमा महराको स्वास्थ्य परिक्षण गरिएको प्रहरीले जनाएको छ।

काठमाडौं प्रहरी परिसर टेकुका प्रमुख एसएसपी उत्तमराज सुवेदीकाअनुसार महरामा उच्च रक्तचाप र अक्सिजनको कमी देखिएको छ। महराले पहिलादेखि नै हाइ–ब्लड प्रेसरको औषधि खांदै आएको छ। महराको बयान अदालत र सरकारी वकिलको कार्यालय खुलेपछि मात्रै सुरु हुने भएको छ। अदालत असोज २८ गते मात्र खुल्नेछ।

अदालत खुलेसँगै म्याद थपको अनुमति लिइने जनाइएको छ। त्यसपछि दुवै पक्षलाई सरकारी वकिलको कार्यालयबाट बयान लिने काम हुन्छ। उक्त मुद्दा काठमाडौं प्रहरी परिसर, टेकुबाटै चल्ने भएको छ। अदालतको दशैं विदा २६ गतेसम्म छ। तर पूर्वप्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको निधनको शोकमा २७ गते पनि अदालतमा विदा दिइएको छ।

महराको दशैं काठमाडौंको अनामनगरस्थित महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा नै बित्ने भएको छ। मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद– १८ करणी सम्बन्धी कसुरमा उक्त मुद्दा चल्ने देखिएको छ।

सो परिच्छेदको दफा २१९ मा ‘जबर्जस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी’ सजाय तोकिनेछ। सो दफाको उपदफा २ (ङ) मा ‘१८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि दश वर्षसम्म’ सजाय हुने व्यवस्था छ।
प्रकाशन मिति–२०७६ साल असोज २० गते सोमवार ।