काठमाडौं। रोशनी शाही बलात्कार काण्डमा नराम्ररी मुछिएपछि शालिन स्वभाव मानिएका पूर्वसभामुख कृष्णवहादुर महराको चालिस बर्ष लामो राजनीतिमा नै कालो दाग परेको छ। धेरैले महराको राजनीति रोशनी शाही काण्डले सखाप भयो भन्न पछि परिरहेको छैन्।

१० बर्ष लामो जनयुद्धमा पूर्वमाओवादी कमाण्डर भएर मूलधारको राजनीतिमा आएपछि गृहमन्त्री हुंदै सभामुख समेत भएका महरालाई रोशनी शाही बलात्कार काण्डले जेल चलान समेत गरायो। हाल काठमाडौंको डिल्लीबजारस्थित चारखाल सदर जेलमा रहेका उनै पूर्वसभामुख कृष्णबहादुर महराले जिल्ला अदालत काठमाडौंले गरेको आदेश बदर गर्न माग गर्दै बिहीबार उच्च अदालत पाटनमा निवेदन दिएका छन्।

महराले जिल्ला अदालतको आदेश बदर गरी थुनामुक्त गराउन माग गर्दै निवेदन दिएका हुन्। फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम थुनछेकउपरको निवेदन दिएको बुझिएको छ।
महराको निवेदनमाथि कैफियत प्रतिवेदन मागका लागि शुक्रबार इजलास पेस गरिने अदालत उच्च स्रोतले भनेको छ। जिल्ला अदालत काठमाडौंले गएको कात्तिक १८ गते महरालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो।

प्रकाशन मिति–२०७६ साल मंसीर ५ गते विहीवार ।