काठमाडौं। कोरोनाको कहरका कारण नेपालमा जारी लकडाउनमा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व गृहमन्त्री कृष्ण प्रसाद सिटौलाको छोराको विवाह भएको छ। नेपाल लकडाउनको ३४ औं दिन अर्थात हिजो अक्षय तृतियाको दिन नेता सिटौलाले झापामा बुहारी भित्र्याएका हुन्।

३ महिना अगाडि नै २०७७ वैशाख १४ गतेका लागि तय भएको विवाहको दिनमै छोराको विवाह गरिदिएर नेता सिटौलाले पिता हुनुको कर्तव्य निभाएका छन्। छोराको विवाहमा कसैलाई पनि नबोलाएको बुझिएको छ।

कोरोनाको कहरवाट बच्न बाउ कृष्णप्रसाद सिटौला र छोरा श्यामप्रसाद सिटौला मास्क लगाएर बुहारी लिन गएका थिए। बुहारी मनिषा विमलीलाई पनि मास्क लगाएरै ल्याएका थिए। विहेको कुनै जन्ती पनि लगेको थिएन। सामान्य सिन्दूर–पोते
गरेर लकडाउन विवाह गरिदिएर नेता सिटौलाले राम्रो उदाहरण पेश गरिएको कांग्रेस वृतमा चर्चा चलेको छ। नेता सिटौलाले छोराको विवाह भोज पनि केही नगरिएको बुझिएको छ।

विवाहको भोलिपल्ट आज सोमवार सिटौला परिवारले भद्रपुर नगरपालिका, कचनकवल, हल्दिवारी र बाह्रदशी गाउँपालिकालाई १ लाखका दरले र सिटौलाको घर रहेको भद्रपुरको १० नम्वर वडा र आफ्नो खेती किसानी रहेको विर्तामोडको १० नम्वर वडालाई ५० हजारका दरले जम्मा ५ लाख रकम स्थानिय सरकारको कोरोना राहत कोषमा राखिदिएर अर्को थप उदाहरण पेश गरेका छन्। विवाह खर्च कोरोना राहत कोषमा राखिदिएपछि नेता सिटौलाको झापामा तारिफ गर्नेहरुको कुनै कमी भने देखिएन।
प्रकाशन मिति–२०७७ साल बैशाख १५ गते सोमवार ।