काठमाडौं। कोरोना संक्रमणको जोखिम हुन नदिन ‘लकडाउन’ जारी रहँदा नेपालमा रोकिएका विभिन्न ५४ मुलकका ३०९ विदेशी नागरिक लिइ कतार एअरवेजको ‘वाइडबडी’ जहाज फ्रान्सको पेरिसतर्फ उडेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलकाअनुसार नेपालस्थित फ्रान्सेली दूतावासले ‘चार्टर’ गरेको सो उडान कतारको दोहा हुँँदै पेरिस पुगेको हो।

जहाजमा युरोपेली मुलुक तथा दक्षिण अफ्रिका, इजरायल, अमेरिका, क्यानाडालगायत मुलुकका नागरिक रहेका छन्। यो उडानसहित लकडाउन अवधिमा कतार एअरवेजको ११ उडान भरेको छ। कतारपछि नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स)ले आठ अन्तर्राष्ट्रिय उडान गरेको छ। नेपालबाट तीन नेपालीसहित ३० वायुसेवा प्रदायक कम्पनीले उडान भर्दै आएका छन्।

सरकारले २०७६ चैत ११ देखि देशभार लकडाउन गरेको छ। पछिल्लोपटक आगामी वैशाख २५ सम्म लकडाउन जारी रहेको छ। यो अवधिमा गत चैत १० गतेदेखि आगामी जेठ २ गतेसम्म नेपालमा उडान भर्ने सबै अन्तर्राष्ट्रिय हवाई उडान प्रतिबन्ध गरिएको छ।


प्रकाशन मिति–२०७७ साल बैशाख २० गते शनिवार ।