काठमाडौं। कोरोनाभाइरस (कोभिड–१९) महामारीको कारण जारी लकडाउनले भोकभोकै पर्न थालेका विपन्न वर्गका नेपाली जनतालाई सरकारले केही राहत उपलव्ध नगराएको अवस्थामा नेपाली जनताहरु नै जागरुक वन्न थालेका छन्।

यसक्रममा सामाजिक अभियन्ता स्वास्थ्यसेवी वाङचुङ रापटेन लामाको अगुवाईमा भोकभोकै परेका विपन्न वर्गका नेपाली जनतालाई राहत वितरण कार्य भएको हो। काठमाडौंको पशुपतिनाथ परिसरमा कुसुम लामा, रोमन पटेल, विना मगर, डोर्जे शेर्पा, सोनाम छिरिङ, अमन शाहको नेतृत्वमा निःशुल्क भोजन कार्यक्रम भैरहेकोमा सामाजिक अभियन्ता स्वास्थ्यसेवी वाङचुङ रापटेन लामाले साथ दिएर राहत वितरण गरेका हुन्।

सोमवार आयोजित कार्यक्रममा २ सय ३३ जनालाई निःशुल्क भोजन गराउने कार्य भएको जानकारी स्वास्थ्यसेवी लामाले भिजन संसार डटकमलाई दिएका छन्। स्वास्थ्यसेवी लामाले हन्ड्रेट ग्रुपको आयोजनामा टुंडिखेलको खुल्ला मञ्चमा आयोजना भैरहेको निःशुल्क भोजन कार्यक्रममा पनि पर्सि बुधवार सहयोग गर्ने भएका छन्।

यसअघि यो लकडाउन अवधिमा सामाजिक अभियन्ता स्वास्थ्यसेवी वाङचुङ रापटेन लामाले नमोःबुद्ध नगरपालिकाका ११ वटै वडाका विपन्न वर्गका २ सय ४० परिवारलाई राहत वितरण, सिन्धुपाल्चोकको पहिरो पीडितहरुलाई पनि राहत वितरण गरिसकेका छन्।

त्यसैगरेर, स्वयम्भु, बौद्ध र नमोःबुद्ध स्तुपा क्षेत्रमा स्यानिटाइजेरेसन गर्नुको अलावा विभिन्न गुम्बा र स्कुलहरुमा पनि स्यानिटाइजेरेसन गरिएको जानकारी पनि लामाले दिएका छन्। नमोःबुद्ध नगरपालिकामा पीपीसेट २० थान, मास्क १ हजार पिस, स्यानिटाइजर ८ लिटर सहयोग वितरण गरेको तथा विभिन्न गुम्बामा रहेका आनी र लामाहरुलाई मास्क वितरण गर्ने कार्य पनि गरेका छन्। समाजसेवी लामालाई यस सामाजिक कार्यमा एलिभेट नेपाल, होप अलाइन्स, होपमेन फेमिली लगायतका संस्थाको सहयोग र साथ रहेको पनि लामाले वताएका छन्।

प्रकाशन मिति–२०७७ साल भाद्र २२ गते सोमवार ।