काठमाडौँ । विगत तीन हप्तादेखि जारी काठमाडौं उपत्यकाको लकडाउनमा आज विहीवारवाट केही खुकुलो भएको छ। निषेधाज्ञा अर्थात लकडाउन खुकुलो भएसँगै काठमाडौँ उपत्यकामा विहीबार बिहानैदेखि चलहपहल बढेको हो।

व्यापार–व्यवसाय खुल्न थालेका छन् भने निजी तथा सार्वजनिक गाडी जोर–बिजोर प्रणालीमा संचालन भएका छन्। काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका जिल्ला प्रशासन प्रमुखको संयुक्त बैठकले हिजो गरेको निर्णय अनुसार बिहान ११ बजेसम्म र बेलुका पाँच देखि ७ बजेसम्म गरी दुई सिफ्टमा खाद्यान्न पसल खुला हुनेछन् । खाद्य बस्तु, दूध र दुग्धजन्य पदार्थ, फलफुल, तरकारी, माछा मासु बिक्रीका लागि उक्त सिफ्ट लागु हुनेछ ।

यसैगरी फुटपाथ पसल, ठेला व्यापार, स्टेसनरी पसलहरु, इलेक्ट्रिक र इलेक्ट्रोनिक्स पसलहरु र डिपार्टमेन्टल स्टोरहरु बिहान ११ बजेसम्म र बेलुका ४ देखि ७ बजेसम्म खोल्न पाइने छ। सवारी साधन मर्मत सम्बन्धी वर्कसपहरु बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म सञ्चालन गर्न पाइनेछ।

यसैगरी सपिङ मल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक पसलहरु सोमबार, बुधबार र शनिबार मात्र खुल्न पाउने छन् । यसैगरि भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइने छ। फर्निचर र अटोमोबाइल सम्बन्धी पसलहरु सातामा सोमबार र बुधबार मात्र खुल्नेछन् ।

काठमाडौँ उपत्यका भदौ ३ गतेदेखि निषेधाज्ञा अर्थात लकडाउन लागु भएको थियो । पछिल्लो पटक परिमार्जित निषेधाज्ञा भदौ ३१ गतेसम्म कायम रहने छ।

प्रकाशन मिति–२०७७ साल भाद्र २५ गते विहीवार ।