काठमाडौं। नेपालमा लकडाउन खुलेको तीन सातापछि एसईई र कक्षा १२ को परीक्षा गर्न विज्ञ सम्मिलित कार्यदलले सरकारलाई सिफारिस गरेको छ।

शिक्षा मन्त्रालयले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलको अध्यक्षतामा गठन गरेको कार्यदलले बैशाख २५ गतेपछि लकडाउन खुले जेठ अन्तिम साताबाट दुवै कक्षाको परीक्षा सञ्चालन गर्न सकिने औंल्याएको हो।

एसर्ईर्ई र कक्षा १२ को परीक्षा बिहान र दिउँसोको सिफ्टमा गर्न सकिनेसमेत कार्यदलले जनाएको छ । कार्यदलका संयोजक पौडेलले बिहीबार शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाएका छन् ।

देशभर परीक्षा केन्द्र र त्यसका उपकेन्द्र कायम गरेर परीक्षा सञ्चालन गर्न सकिने सुझाव दिइएको छ। शिक्षामन्त्री पोखरेलले प्रतिवेदन बुझेपछि कार्यान्वयनका लागि मन्त्रालयका सचिव र सहसचिवहरुलाई निर्देशन दिएका छन् । कार्यदलका सदस्यहरुसँग उनले यो प्रतिवेदन कोरोना रोकथाम उच्चस्तरीय कार्यदल र मन्त्रिपरिषद्मा लगेर थप छलफल गर्ने समेत बताएका छन्।

लकडाउन खुलेर अवस्था सामान्य भएको ३ सातापछि परीक्षा सञ्चालन गर्न सकिने आकलन गरिएको बोर्डका अध्यक्ष पौडेलका अनुसार, एसईई परीक्षाका लागि देशभर एक हजार ९ सय ९५ केन्द्रहरु तोकिएको छ। केन्द्र नजिकै उपकेन्द्र थप गरेर सामाजिक दुरी कायम गराउन सकिने कार्यदलको विश्वास छ।

विद्यार्थीको चाप बढी हुने केन्द्रहरुमा उपकेन्द्र कायम गरेर परीक्षा सञ्चालन गर्ने बोर्डले निर्णय गरिसकेको छ। त्यसका लागि ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईसँग तथ्याङ्क माग गरिएको छ।
प्रकाशन मिति–२०७७ साल बैशाख १८ गते विहीवार ।