सम्पादकीय

कोरोनाभाइरसको महामारी निदानको विकल्पको रुपमा सरकारले लकडाउन गर्न भने जानेको छ। लकडाउन मात्र कोरोना महामारीको निदानको विकल्प होइन। कोरोनाको महामारी फैलिन सक्ने तथ्य तथा कारणलाई समयमा नै कुनै मतलव नगरेको कारण नै नेपाल जस्तो सानो मुलुकमा कोरोनाको महामारीको नयाँ भेरियन्टको दोश्रो चरणले विकराल रुप लिएको हो।

कोरोना महामारी नियन्त्रणमा आएको पुस–माघ यता सतापक्ष तथा विपक्ष पार्टीका नेताहरुको शक्ति होड तथा राजनीतिक खिचातानीका कारण शक्ति प्रदर्शन गर्न र गराउनमा रमाए । कोरोनाको महामारी जितेर उत्सव मनाएको शैलीमा राजनीतिक पार्टीहरुको अविस्मरणीय शक्ति प्रदर्शनको बेला कतिले कतिलाई कोरोना सल्कायो होला भनेर शक्ति प्रदर्शन गर्ने र गराउने नेताहरुले त्यही बेला बुझ्नुपर्ने थियो। विश्वलाई नै चकित वनाएर कोरोना जितेको उत्सव जस्तो गरेर शक्ति प्रदर्शन गर्नु र गराउनु सही हो या गलत भनेर यतिखेर मूल्याँकन गर्नु आवश्यक छ।

जनताको ज्यानलाई नै खतरामा पारेर कोरोना विश्ववाटै अन्त्य नभएको अवस्थामा त्यसप्रकारको शक्ति प्रदर्शन गरेर विश्वमा कस्तो सन्देश गयो होला भनेर ती नेता तथा पार्टीले आत्ममूल्याँकन गर्न आवश्यक छ। अर्कोतर्फ कोरोना नियन्त्रण भयो भनेर लापरवाही गर्ने जनता पनि दोषी हो। मास्क नलाउने, सोसियल डिस्टान्स मेन्टन नगर्ने तथा स्वास्थ्य मापदण्डलाई बेवास्ता गर्नु जनताको गल्ती हो।

त्यस्तै, कोरोनाको दोश्रो महामारी नेपालमा फैलिनुमा छिमेकी मुलुक भारतसंगको खुला सिमाना हो। विना रोकटोक अनवरत रुपमा नेपालको पूर्व, पश्चिम र दक्षिण सिमाना नाकावाट नेपाली तथा भारतीयहरु आवत जावत गर्ने गर्दछन्। यो खुला सिमाना पनि सानो मुलुक नेपालको लागि बरदान भन्दा अभिशाप बनेको छ। खुला सिमाना बन्द गरेर पासपोर्ट सिस्टम लागू गर्न नसकेपनि कम से कम खुला सिमाना क्षेत्रमा स्वास्थ्य जाँच कडाई मात्र गर्न सकेपनि यति ठूलो महामारी यति चाँडै नेपालमा भित्रिने थिएन।
नेपालको उत्तरी सिमानामा रहेको चीन कोरोनाको मुहान नै हो।

पोहोर साल चीनवाट कोरोनाको महामारी विश्वभर फैलिदा पनि चीनसंग नेपालको सिमाना खुला नभएको कारण नेपाललाई खासै त्यहाँवाट ठूलो असर परेन। कोरोनाको मुहान चीनमा कोरोनाको महामारीको दोश्रो चरणको बेला पनि शान्त छ। खासै त्यहाँवाट डरलाग्दो त्यस्तो खवर छैन्। भारतवाट भित्रिएको कोरोनाको दोश्रो चरणको महामारीले नेपालमा गत बर्षभन्दा यो बर्ष बेहाल छ। कोरोनाको यो दोश्रो चरणको महामारीलाई नियन्त्रण गर्ने पहिलो उपाय भन्नु नै भारतसंग जोडिएका खुला सिमाना नाकाहरुमा व्यापक कडाई पछिसम्म गर्न र गराउन आवश्यक छ।

कोरोना महामारी विरुद्ध व्यापक जनचेतना अभिबृद्धि गर्न र गराउन अत्यन्त जरुरी छ। कोरोना महामारीमा लापरवाही गर्नेहरुलाई कडाईका साथ कानूनी कारवाही गर्न र गराउन पनि सरकार चुक्नु हुन्न। सवै संयमित तथा सचेत बनेमा कोरोना महामारीको नाममा लकडाउन गर्न आवश्यक छैन्।

लकडाउन समाधान नभइकन समस्या हो। गरीब तथा मध्यम बर्गिय जनतालाई लकडाउनले राहत होइन, व्यापक आहत मात्र दिने गरेको छ। तसर्थ, लकडाउन गर्न जानेको सरकारले गरीब तथा मध्यम बर्गिय जनतालाई राहत पनि दिन जान्नु पर्दछ। राहतका प्याकेज घोषणा गर्न सक्नु पर्दछ।


(नामी साप्ताहिकको सम्पादकीय साभार)
प्रकाशन मिति–२०७८ साल बैशाख २९ गते बुधवार ।