–सुनकुमार अवाल
काठमाडौं। आज मिति २०७७ जेठ ११ गतेसम्म आइपुग्दा देशमा कोरोनाभाइरस (कोभिड–१९) को संक्रमन फैलिनु नदिनका लागि २०७६ चैत्र ११ गते देखि गरिएको जारी लकडाउनको समयावधि दुई महिना पूरा भएर तेस्रो महिनामा प्रवेश गरेको छ।

संक्रमितको संख्या १० जना नपुग्दै गरिएको लकडाउनको समय दुई महिना पुगेको दिन कोरोना संक्रमितहरुको संख्या करिब ६ सयको नजिक पुगिसकेका छन। यसरी संक्रमितहरुको बढ्दो संख्यालाई हेर्दा लकडाउन कतिको प्रभावकारी भयो या भएन भन्ने विषयमा समिक्षा गर्ने बेला भैसकेको नेपाली सेनाका पूर्व सैनिक आनन्दराज केसी (गोतामे) को भनाई रहेको छ।

नेपाली सेनावाट निवृत बनेर यतिखेर समाज–सेवामा अत्यन्त क्रियाशील आनन्दराज केसी (गोतामे) विना पूर्वतयारी लकडाउन गरेको कारण समस्यामा विकराल स्थिति आएको हो कि भन्ने आशंका व्यक्त गर्छन्। लकडाउनको वारेमा पूर्ण जनचेतना नभएको कारण पनि यो स्थिति आएको हुनुपर्ने बताउने केसीको ठहर रहेको छ।

लकडाउनका कारण विपन्न वर्गका ज्याला–मजदुरी गर्नेहरु देखि मध्यम वर्गका परिवारलाई पनि अत्यन्त समस्या भैसकेको तथ्यलाई केसीले उजागर गरेका छन्। भक्तपुरको कटुञ्जे सूर्य विनायक नगरपालिका वडा नंबर ६ मा पूख्र्यौली थाकथलो रहेतापनि केसीको जन्म भने काठमाडौंको मखन टोलमा भएको हो।

हाल काठमाडौं महानगरपालिका वडा नंबर ३२ कोटेश्वर स्थित दीपनगर मनहरा मार्गमा स्थायी वसोवास गर्दै आएका केसीले निखिलेश्वर मन्दिर तथा तारकेश्वर मन्दिरसंग सामाजिक अगुवाहरुका साथमा लागेर यो विपदको बेला राहत सहयोग गर्ने कार्यमा व्यस्त वन्दैआएको बताएका छन्।

 

प्रकाशन मिति–२०७७ साल जेठ ११ गते आइतवार ।