–श्याम स्मृत
काठमाडौं। रोजगारीमा नारी सशक्तीकरण अनि आर्थिक उपार्जनमा महिला रोजगारीका अवसरहरू सिर्जना गरी नेपाली समाजका विद्यमान महिला–पुरुषबीचको वित्तीय विभेदलाई अन्त्य पार्न सौन्दर्य कलाको क्षेत्र प्रभावकारी बन्दै गएको छ । यही वास्तविकतालाई मध्यनजर गर्दै नयाँपुस्ताका युवाशक्ति सौन्दर्यकलाको पेसा–क्षेत्रप्रति आकर्षित हुँदै गएका हो।

यस क्षेत्रमा अनुभव हासिल गर्दै गएपछि स्वदेशमै उचित स्वरोजगारीमा अवसरहरू सृजना गराउन महिलाहरू नै सक्षम भएको दावी इन्टरनेशनल नेपाली व्युटीसियन लक्ष्मी महतको छ । दुई दशकभन्दा लामो समयदेखि निरन्तर नेपाली सौन्दर्यकला तथा लायन्स क्लब मार्फत सामाजिक सेवामा अत्यन्त सक्रिय लक्ष्मी महत दायरा अझै फराकिलो पार्दै लाने हो भने सौन्दर्य कलाको क्षेत्र नै महिलाहरूका लागि निर्विकल्प छनोट बन्न सक्ने बताउन चुक्दिनन् । किनभने आधुनिक जीवन शैलीमा नारीहरूका लागि सौन्दर्य दैनिक अपरिहार्यताजस्तै बनिसकेको तर्क महतको छ।

आफूसुहाउँदो पहिरनमा चिटिक्क पर्ने, आकर्षक देखिने चाहना कुन मानिसमा नहोला र ? तर, अफसोच सबैले चाहेर यस्तो रहर पूरा हुँदैन । कतिको शारीरिक बनावटले साथ दिँदैन त कतिपयको पहिरनले । यी सबै ठीक भए पनि सौन्दर्यमा विशेष ध्यान दिइएन भने त्योचाहिँ अपूर्ण नै हुन्छ । यही भएर हुनुपर्छ पछिल्ला दिनमा सौन्दर्यकला मानव जीवनका लागि अपरिहार्यजस्तै बनेको हो । यसैको परिणाम सौन्दर्यकर्मी तथा प्रशिक्षकको माग र इज्जतसमेत बढ्दो छ ।

देश विदेशमा हजारौलाई सौन्दर्यकलामा प्रशिक्षण दिएर रोजगार तथा स्वरोजगार वनाउन सफल महतका अनुसार, हिजोआज विवाहदेखि, पार्टी, फोटोसुट, म्युजिक भिडियो, टेलिफिल्म, फिल्म, फेसन सो लगायत सबैमा सौन्दर्य कला र कलाकर्मीको आवश्यकता पर्छ । त्यसैले यस पेसाप्रतिको मोह बढ्दो छ । प्रशिक्षण लिनेको संख्या दिनानुदिन थपिदो छ । नेपालमा सौन्दर्य पेसा/व्यवसायप्रति हेरिने दृष्टिकोण समय परिस्थितिसँगै क्रमशः बदलिन थालेको छ । व्यक्ति तथा समाजको सोचमा आएको परिवर्तनले नै यस पेसामा सामाजिकता पनि थपिएको छ । तथ्यांकहरूका अनुसार, नेपालमा सौन्दर्यकर्मीको संख्या करिब तीन लाखको हाराहारीमा छ।

 

पहिलो  नेपाली महिला कुक

नेपालको पर्यटकीय नगरी काठमाडौंको ठमेलमा रहेको प्रतिष्ठित रेष्टुरेन्ट एसकलामा तीन दशकअघि पहिलो पल्ट नेपाली महिला कुकको रुपमा काम गरेर लक्ष्मी महतले ख्याति कमाएकी छन्। त्यो बेला पहिलो महिला कुकले पकाएको परिकार भनेर ठमेलमा आउने विदेशी पर्यटकहरु माझ अत्यन्त लोकप्रियता पाएको थियो। नेपाली महिलाले कुकिङ गरेको भनेर एसकला रेष्टुरेन्टमा हेर्न आउनेको पनि कमी नभएको त्यो पल तथा क्षण लक्ष्मी महतको मानसपटलमा अझै ताजा रहेको छ।

समयको गतिसँग बहने मानवीय स्वभावमा परिर्वतन हुने आवश्यकता, इच्छा र आकांक्षा प्रबल रहन्छ । सोही अनुरुप ठमेलको पहिलो महिला कुकको इतिहास रचेको लगतै ठमेलमा नै Chrysalis Boutique खोलेर ठमेलको पहिलो महिला बुटिक व्यवसायीको रुपमा महत गनिन पुगिन्। जुन महतको अर्को आयामिक अनि गर्बिलो इतिहास हो। त्यस सिलसिलालाई निरन्तरता दिदै ठमेलमा नै रहेको ITC Training Center को ब्रान्च खोलेर व्युटीसियनको इतिहास रचेकी महत अढाई दशकदेखि निरन्तर सौन्दर्यकलाको प्रशिक्षक तथा सौन्दर्यकर्मी बनेर निरन्तर अग्रपंक्तीमा  छन्।

नेल आर्टको पहिलो प्रशिक्षक बनेर सेमिनार गर्ने इतिहास पनि महतले नै रचेकी हुन्। पूर्व मेची देखि पश्चिम महाकालीसम्ममा १ सयभन्दा बढी व्युटी सेमिनार गरिसकेकी महतले हाल काठमाडौंको ठमेल ज्याठा चोकवाट तलाक्षी जाने गणेश चोकमा प्रतिष्ठित Fascinated Beauty Training Center  मार्फत सौन्दर्यकलाको सेवा तथा तालिम दिने कार्य हुदैआएको छ।

त्यसको अलावा नेपालको प्रसिद्ध फाइभ स्टार होटल हायात, याक एण्ड यति, पोखराको होटल फूलवारी, काठमाडौंको बीआइसीसी हल लगायतमा फेसन–शोको आयोजना समेत गरेर नेपाली मौलिक फेसन उद्यमको विश्वमाझ प्रबद्र्धन गर्ने र गराउने कार्यमा महतको योगदान रहेको छ।

त्यस्तैगरेर, Lion’s Club of Kathmandu Fellowship’s Member District 325 F  2022/2023 Region Chairperson समेत रहेकी महतले नेपालमा महाभूकम्प आएको विपदको बेला तथा कोरोनाको महामारीको समयमा पनि लायन्स क्लव मार्फत धेरै स्थानमा विभिन्न सहयोग गर्ने कार्य गरेकी छन्। अझैपनि कतिपय विकट स्थानहरुमा समेत पुगेर आफूले सक्दो सहयोग गर्ने कार्य गर्दैआएको महतले बताएकी छन्।

चुप लागेर बस्नै नसक्ने इन्टरनेशनल नेपाली व्युटीसियन लक्ष्मी महत सौन्दर्य कला क्षेत्रमा स्वरोजगारीका अवसरहरू दु्रत गतिमा थपेको खुलासा गर्छिन् । सौन्दर्य कला क्षेत्रले महिला तथा घरपरिवारको आर्थिक सम्पन्नता, आत्मानिर्भरतामा ठूलो टेवा दिने कार्य पनि भएको महत भन्छिन्।

सौन्दर्य कला नारीहरूका लागि आन्तरिक तथा बाह्य रोजगारी सिर्जना गर्ने प्रचुर सम्भावना बोकेको क्षेत्र भए पनि हालसम्म यसप्रति चासो राख्ने महिलाहरूलाई राज्यले उचित सम्मान र व्यवस्थापन गर्न नसकेको गुनासो पनि महतको छ । प्रोत्साहन, व्यावसायिक सीप ज्ञान, प्रशिक्षण, व्यवसाय वृद्विका लागि लगानी, लगानीको अवसर प्रदानजस्ता कार्यमा राज्य र सरकारको सहयोग गर्नु आवश्यक भएको पनि महतको राय रहेको छ।

 

(नामी साप्ताहिकवाट साभार)
प्रकाशन मिति–२०७९ साल माघ २७ गते शुक्रवार ।